२०८१ मंसिर २५
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा ६सय १३ जना बढी बालबालिकाहरुलाई ‘दादुरा–रुबेला खोप लगाउने तयारी

 

मुस्ताङमा ६सय १३ जना बढी बालबालिकाहरुलाई ‘दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले यही फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप दिन लागेको हो ।जिल्लामा २९ खोप केन्द्रमार्फत ६सय १३ जना बालबालिकालाई खोप अभियानमा लक्षित गरिएको छ । स्वास्थ्य कार्यालयले फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म जिल्लाका ५ वटा पालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारीले जानकारी दिए ।

अभियानलाई सफल बनाउन सञ्चारकर्मी र सरोकारवालासँग अन्तक्र्रिया गर्दै उनले भने ‘अभियानलाई सफल पार्नका लागि सबै स्थानीय तह मार्फत निमन्त्रणा कार्ड समेत वितरण गरेका छौं ।’ नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

अभियानका लागि ८५ जना स्वयंसेवक खटिएका छन् भने २९जना स्वास्थ्यकर्मी परिचालित छन्  स्वास्थ्य कार्यालयले अभियान सफल बनाउन जिल्लास्तरीय योजना तर्जुमा, स्वास्थ्यकर्मीहरूलाई तालिम, स्वयसेवकको लागि अभिमुखीकरण, पालिका, वडा खोप समन्वय समिति र सञ्चारकर्मीसँग अन्तक्र्रिया जस्ता कामलाई तिव्रता दिएको छ । गाउँ–गाउँमा खोपको महत्व बुझाउन सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग छलफल र अन्तक्र्रिया गर्दै आइएको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । उनले भने ‘हामीले यसलाई आफ्नो भविष्यसँग जोडेर हेर्नुपर्छ, धेरै मान्छेले खोपको महत्व बुझ्दैनन्, त्यसकारण सबैलाई यसको महत्व बोध गराउँदै हामीले दादुरा रुबेला खोप अभियान सफल पार्नुपर्ने छ । भण्डारीले भने अभियानलाई सफल पार्न जिल्लाका पत्रकारहरुलाई समेत आग्रह गरे । उनले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सामुदायिक स्तरमा यसको प्रचारप्रसार बढीभन्दा बढी गरिदिन सुझाव दिए ।

 

भण्डारीले आ–आफ्ना बालबालिकाको भविष्यप्रति जिम्मेवार अभिभावकले खोपको महत्व बुझ्न र अरूलाई समेत बुझाउन जरुरी रहेको बताए । बाल मृत्युको प्रमुख कारणमध्ये दादुरा रुबेला रहने गरेको यसको संक्रमणले कुपोषण, निमोनिया, इन्सेफ्लाइटिस र बिकलांङगताजस्ता असर देखा पर्ने गरेको उनले भने । यसको संक्रमणले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति क्षीण हुने भएकाले विभिन्न खाले संक्रमण हुने गरेको भण्डारीको भनाई छ । एउटा संक्रमित बालबालिकाको सम्पर्कमा आउने कुनै पनि बालबालिकाले यदि खोप लिएको छैन भने सर्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुने जानकारी दिए । खोप लिएका बालबालिकामा भने यसको संक्रमणको सम्भावना नहुने भण्डारीको बुझाइ छ । दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ ।

नेपालमा दादुरा विरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । दादुरा विरुद्धको खोपको एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्दछ । दुई डोजले करिब १०० प्रतिशतसम्म बालबालिकाहरू पूर्णरूपमा सुरक्षित गर्न सक्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनले १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि नलगाएको बताउँछ । धेरैले ९ महिनासम्म खोप लगाएपनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको स्वास्थ्य कार्यालय प्रमुख भण्डारीले बताए । तुलनात्मक रुपमा दादुराको दोस्रो मात्राको खोप लगाएकोे हेर्दा सन्तोषजनक मान्न नसकिने उनले बताए । पहिलो मात्राको खोप लगाउनेहरू ९५ प्रतिशतभन्दा बढी भए पनि ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।

दादुरा रोग छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने भण्डारीको भनाई छ ।
खोपप्रतिको महत्व कम हुनु, खोप अभियान फितलो हुनु, खोपमा पहुँच नहुनु आदि कारणले बालबालिकाहरु खोपबाट बञ्चित हुन पुगेका छन् ।कार्यक्रममा जिसस प्रमुख माया गुरुङ जिसस उपप्रमुख आइतेलाल थकाली ,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, घरपझोङ गांउपालिकाका अध्यक्ष मोहन सिंह लालचन लगायतले बोल्दै अभियानलाई सफल पार्न आग्रह गरे । कार्यक्रममा जिल्लामा क्रियाशिल राजनैतिक दल र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने बताएको नेपालले पछि सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता गरेको थियो । तर अहिले पनि यो लक्ष्य सन् २०२६ सम्मका लागि सारिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्