
लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा मनाङका सुरेश थकाली चयन भएका छन् । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ पोखरामा प्रथम अधिवेशन गरिएको हो ।
पोखरामा भएको प्रथम अधिवेशनबाट थकाली को अध्यक्षतामा विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी नौ सदस्ययी समिति गठन गरिएको हो । समितिको सचिवमा लमजुङका मेग बहादुर गुरुङ कोषाध्यक्षमा मुस्ताङकी पेमा याङटी गुरुङ चयन भएका छन् । सदस्यतर्फ शिवलाल गौतम(कास्की)भविन पाईजा (म्याग्दी),उर्केन साङ्मा लामा(मनाङ) कर्मा छेवाङ लामा (गोर्खा),छिरिङ भुटी लामा(गोर्खा)र भिमप्रसाद थकाली(मुस्ताङ) रहेका छन् ।
याक चौँरीको संरक्षणसँगै यसको व्यवसायीकरणका लागि किसान एकजुट भएर लाग्न महासङ्घको गठन गरिएको महासङ्घका केन्द्रीय महासचिव पावीहाङ राईले जानकारी दिए । “याक चौँरी कृषक महासङ्घको पहिलो अधिवेशन सम्पन्न गरेका छौँ”, उनले भने , “महासङ्घले याक चौँरीको संरक्षण तथा कृषकलाई एकजुट बनाएर यहाँ देखिएका समस्याको समाधानमा पहलकदमी गर्नेछ ।
गण्डकी प्रदेश कृषि तथा भुमी व्यबस्था मन्त्रालयका सचिव बेद बहादुर गुरुङ,पशुपन्क्षी रोग अन्बेषण प्रयोगशालाका प्रमुख डा.किरण पाण्डे पशु सेवा तालिम केन्द्रका प्रमुख डा. गृष्म न्यौपानेले याक चौँरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताए । यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयस्रोतका रुपमा लैजानुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका कास्की,लमजुङ,म्याग्दी,मुस्ताङ,मनाङ,गोर्खा जिल्लाका चौरीपालक कृषकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्