
गोरखा: गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए ।
उनका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल व्यवसायीहरु खुशी भएका छन् ।
त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिए । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
‘पोहोर साल पनि हिउँ परेन। ढिलै भए पनि यसपटकचाहिँ पर्यो भनेर स्थानीयबासी खुसी छन्,’ स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सप्रिन्थ्यो भन्ने चाहना थियो, तर चाहेजति हिउँ अझै परेको छैन।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ।
गुप्सीमा हिउँ परेपछि त्यस भेगका बारीहरूमा पानी बर्सने गर्थ्यो। तर अहिले हिउँ परे पनि पानी भने अझै परेको छैन। ‘गहुँ, जौ सुकिसकेका थिए। अल्ली ठूलो हिउँ परेको भए एकदम राम्रो हुने थियो। अझै पर्छ कि?,’ वडाध्यक्ष किसान गुरुङले भने।
एकीकृत नमूना बस्तीमा हिउँ परेपछि दृश्यावलोकन गर्न विभिन्न ठाउँबाट मान्छेहरू आएका उनले बताए। ‘पहिल्यै आएका विदेशी पर्यटकहरू हिउँ परेपछि बिछट्टै रमाएका छन्। वरिपरिका गाउँहरूबाट पनि हिमपात हेर्न आइपुगेका छन्,’ वडाध्यक्ष गुरुङले भने, ‘यहाँ लामो समयसम्म हिउँ रहने हुँदा पहिले-पहिले पनि धेरै ठाउँबाट आन्तरिक पर्यटकहरू आउने गर्थे, यसपटक पनि पक्कै आउलान्।’
बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छ । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्