पुस ,५स्याङ्जा / स्याङ्जा जिल्लामा गतवर्ष भन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ। गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादनमा भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
गतवर्ष एक अर्ब ३८ करोडको सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष एक अर्ब १४ करोड ५२ लाख २० हजार रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४० बगैचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औषत सार्वजनिक गरेको हो ।
यो वर्ष उत्पादन घटे पनि बिक्री मूल्य भने औषतमा कृषकले राम्रो पाउने प्रारम्भिक आंकलन गरिएको छ । गत वर्ष ५५ रुपैयाँ प्रतिकिलो सुन्तला विक्रि भएको थियो भने यो वर्ष औषतमा ६० रुपियाँ प्रतिकिलो विक्रि भईरहेको छ ।
यहाँको सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले उपभोक्ताको रोजाइमा स्याङ्जाको सुन्तला पर्ने गरेको छ । यसवर्ष ३० प्रतिशत सुन्तला विक्रि भएको छ भने बाँकी ७० प्रतिशत सुन्तला बोटमै छन् ।
यो वर्ष मुख्य खडेरी र असिनाका कारण उत्पादनमा कमी आएको हाे साथै पतेरा र औँसा किराले फल झारेपछि सुन्तला उत्पादनमा कमी आएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले एक वर्ष बाक्लो फल्ने र अर्को वर्ष पातलो फल्ने गरेको र यसवर्ष पातलो नै फलेको बताए । जिल्लाको सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेकोमा उत्पादनशील बंगैचाको क्षेत्रफल १३ सय २० हेक्टर रहेको छ भने ८८० हेक्टर बेर्ना बगैँचा रहेका छन् ।
जिल्लामा आन्तरिक खपत १० प्रतिशत अर्थात एक हजार ९ सय ८७२ मेट्रिक टन रहेको छ । स्याङ्जामा सुन्तला उत्पादन प्रतिबोट ४८ केजी छ भने प्रति हेक्टर १४ हजार ४६० केजी अर्थात १४.४६ मेट्रिक टन रहेको छ ।
जिल्लामा उत्पादन हुने कुल मध्ये ९० प्रतिशत सुन्तला अर्थात १७ हजार १७८।४८ मेट्रिक टन सुन्तला बिक्री हुने लम्सालले बताए ।
११ स्थानीय तह रहेको जिल्लमा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ ।
पुतलीबजारमा ८५० हेक्टर, भीरकोटमा ३५०, वालिङमा २४०, गल्याङ नगरपालिकामामा १३० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ भने अर्जुनचौपारीमा २७०, आँधीखोलामा १२५, फेँदिखोलामा ३५, विरुवामा १५५, हरिनास गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्