२०८१ भाद्र २२
९८५७६५०३३४, ९८५७६५००९३

लोप हुदै पाल्पाकाे परम्परागत ‘बगनासे साँचो’

 

पुष,२ पाल्पा/  बगनासकाली गाउँपालिका वडा नं ९ चापपानी बगनासका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो ताल्चा बनाउन लागेको ५० वर्ष भयो  बगनासडाडाँका ८  घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका छन् ।

विश्वकर्माका हजुरबुबादेखिको यो पेसा हाल ७४ वर्षीय टेकबहादुर एक्लैले धान्दै आएका छन् । पहिला त सबैका घरमा बगनासे साँचो हुन्थे, विदेशसम्म जान्थ्यो उनले भने, बहुदल आएसँगै सबै सामान विदेशबाट आउन थाले हामीले बनाएका साँचो बिक्री हुन छाडे।

फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माको भनाइ छ ।

घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिक साँचो भन्दा केही ठूलो आकारको पनि हुन्छ ।

यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुवात गरेका थिए ।

पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपाेन्मुख हुने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । बजारमा आधुनिक साँचो आउनु अगाडि  बगनासे साँचोको विक्री वितरण धेरै हुने गरेपनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घटेको उनको अनुभव छ ।

उमेर छँदा एकै दिनमा तीन वटासम्म बनाउन सकिन्थ्यो उनले भने, अहिले मुस्किलले एक दिनमा एउटा तयार गर्छु । यहाँका ८-१० घरमा स्थानीय आरन थिए । दैनिक ३० देखि ५० साँचो उत्पादन हुने गर्दथ्यौ ।

जिल्लाका बराङ्ग्दी, खानिगाउँ, चापपानी, यम्घा, दर्लमडाडा देखी जिल्ला बाहिरसम्म साँचो निर्यात हुने स्थानीय रवीलाल विश्वकर्माको भनाइ छ । साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउँपालिकाले सामान्य पहल गरे पनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले  बगनासे साँचोको अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताइन । चिदीका अनुसार गाउँपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री सहयोग गरेको छ ।

नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र बजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान नसकेको स्थानीयवासीकाे भनाइ छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्