दमौली । नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जित्न नदिने बताएका छन् । आफ्नो चुनावी अभियान शुक्रबारबाट सुरु गरेका जोशीले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफु तनहुँ १ बाट उम्मेदवार बन्ने घोषणा गरे । यस अघि समेत तनहुँबाट उम्मेदवार बन्ने उद्घोष गर्दै आएका जोशीले वरिष्ठ नेतालाई तनहुँमा जित्न नदिने गरि तयारी भईरहेको बताए ।
नेपाली काङ्ग्रेसको स्वतन्त्र अभियान तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले आफू चुनाव लड्ने भएकाले आजैदेखि तयारीमा लाग्न पनि कार्यकर्तालाई आग्रह गरे । जे पर्छ सामना गर्ने र भिड्ने बताउँदै जोशीले भने, “स्थानीय तहमा एमालेसँग तालमेल गरेर चुनाव लडेका थियौ, अहिले के हुन्छ भन्न सकिदैन । एमाले वा अरु कोहीसँग एकता हुन पनि सक्छ ।”
पूर्व गृहमन्त्री समेत रहेका जोशीले सिद्धान्तको लडाइ भएकाले यसमा सफलता प्राप्त गर्नुपर्ने बताए । रामचन्द्र पौडेलबाट तनहुँका जनताले मुक्ति चाहेको बताउँदै उनले भने, ‘रामचन्द्र पौडेलबाट मुक्ति हुने कुरा नै तनहुँका लागि आर्शीवाद हो । उनीहरु सरकार पक्ष भएकाले हरेक किसिमका हतकण्डा प्रयोग गर्न सक्छन्, हामीहरु पैसाको लोभमा पर्न भएन ।’ जनताको मतले चुनाव जितिने भन्दै जोशीले जनताको माया आफूहरुसँग भएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्