उच्च हिमाली क्षेत्रमा वातावरण संरक्षण र स्वच्छ ऊर्जा प्रविधि विस्तार गर्ने उद्देश्यका साथ मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्धन’ परियोजना औपचारिक रूपमा सुरु भएको छ। साउन ३० गते आयोजित विशेष कार्यक्रमका बीच प्रारम्भ गरिएको यस परियोजनाले हिमाली भेगका बासिन्दालाई परम्परागत जैविक इन्धनको निर्भरताबाट मुक्त गर्दै भरपर्दो र दिगो ऊर्जा समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ। परियोजना अन्तर्गत पहिलो चरणमा घरपझोङका ६५ घरधुरी र पाँच स्थानीय संस्थासँग सहकार्य गरी हिमाली हावापानी अनुकूल स्वच्छ ताप प्रविधिको पहिचान, परीक्षण र प्रवर्धन गरिनेछ।
नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने समुदायहरू लामो र अत्यधिक जाडो मौसममा न्यानो रहन अझै पनि दाउरा तथा अन्य जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहँदै आएका छन्। यसरी बालिने परम्परागत इन्धनले घरभित्रको वायु प्रदूषण बढाएर स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। यसका साथै जैविक इन्धनबाट उत्सर्जन हुने कालो कार्बनका कणहरूले हिन्दूकुश हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिने प्रक्रियालाई झनै तीव्र बनाएका छन्। यस परियोजनाले वातावरणीय विनाश न्यूनीकरण गर्नुका साथै हिमाली समुदायको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
परियोजना शुभारम्भ कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले हिमाली क्षेत्रमा दाउरामाथिको निर्भरता हटाउनु दिगो समाधानका लागि अनिवार्य भएको बताउनुभयो। दैनिक उपभोग र खाना पकाउन मात्र नभई कठोर जाडोमा सहज जीवनयापनका लागि ऊर्जा अत्यावश्यक रहेको उल्लेख गर्दै उहाँले स्वच्छ ऊर्जामा गरिने लगानी जनस्वास्थ्य र आर्थिक समृद्धि दुवैका हिसाबले उत्तिकै महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। साथै, दुर्गम ग्रामीण क्षेत्रमा उपकरण बिग्रेमा मर्मत सम्भार र प्रतिस्थापन गर्ने प्राविधिक सीपको अभाव ठूलो चुनौती रहेको औंल्याउँदै अध्यक्ष लालचनले समुदायमा जनचेतना फैलाउनुका साथै स्थानीय तहमा प्राविधिक सेवाको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
इसिमोड (ICIMOD) को नेतृत्वमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र प्राक्टिकल एक्शन नेपालको सहकार्यमा क्लिन एयर फन्डको आर्थिक सहयोगमा यो परियोजना सञ्चालनमा ल्याइएको हो। हिमाली क्षेत्र अनुकूल स्वच्छ र दिगो ऊर्जा समाधानलाई अघि बढाउने उद्देश्यका साथ सही समयमा आएको यस परियोजनाबाट स्वच्छ ऊर्जा प्रविधिसम्बन्धी दूरगामी प्रभाव पार्ने महत्त्वपूर्ण प्रमाण र सिकाइहरू प्राप्त हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्