खोलाकिनारको बास, जनधनको सत्यानाश
२०८३ असोज ६ मुस्ताङ । मुस्ताङमा विकास र समृद्धिको नाममा प्रकृतिको सीमा मिच्ने प्रवृत्ति बढ्दै गएको छ। खोलानाला र नदीको प्राकृतिक बहाव क्षेत्र साँघुरो पार्दै बस्ती, संरचना र खेती विस्तार गर्ने क्रम रोकिएन भने यसको मूल्य जनताले जनधनको क्षतिबाट चुकाउनुपर्नेछ। आज सीमित हुनेखाने वर्गले सार्वजनिक तथा सरकारी जमिनमाथि दोहन गर्दै आफ्नो स्वार्थ पूरा गर्ने, तर विपत्ति आउँदा त्यसको भार गरिब र कमजोर नागरिकले बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। गरिब रोएर बस्ने र धनी हाँसेर रमाउने मुस्ताङ बनाउने हो कि सबैका लागि सुरक्षित मुस्ताङ बनाउने हो—अब गम्भीर प्रश्न यही हो। विकास आवश्यक छ, तर विकासका नाममा प्रकृतिको विनाश स्वीकार्य हुन सक्दैन। खोलाको बाटो साँघुरो पारेर बनाइएका संरचना, अव्यवस्थित बस्ती र प्राकृतिक बहावमाथिको अतिक्रमण तत्काल पुनरावलोकन गर्नुपर्छ।
कागबेनी खोलाको प्राकृतिक बहाव क्षेत्र क्रमशः साँघुरिँदै जानु, स्याङ खोला, मार्फा र राजखोलाको आसपास स्याउखेतीका नाममा सरकारी जमिनको प्रयोग र नदी–खोलाको क्षेत्रमाथि हुने अतिक्रमणले भविष्यको जोखिम बढाइरहेको छ। यी विषय केवल वातावरणीय चिन्ता होइनन्; मुस्ताङको बस्ती, कृषि, पर्यटन, सडक र नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएका सवाल हुन्। प्रकृतिले थाम्न सक्नेभन्दा बढी हस्तक्षेप गरियो भने विपत्ति कुनै सूचना दिएर आउँदैन। बाढी, पहिरो र कटानले सीमा नछुट्याउने भएकाले आज गरिएको लापरबाहीको परिणाम भोलि कसैको घर, खेत, व्यवसाय वा जीवनमा पर्न सक्छ। विकासले विनाशको जोखिम बढाउनु हुँदैन; बरु वैज्ञानिक योजना, जोखिम मूल्यांकन र वातावरणीय अनुशासनमार्फत विकासलाई सुरक्षित बनाउनुपर्छ। हिमाल, नदी, खोला र जलाधार क्षेत्रको संरक्षणबिना मुस्ताङको दीगो विकासको कल्पना अधुरो हुनेछ।
अब प्रश्न उठ्छ—सरकारी निकाय कहिले जाग्ने? जोखिम देखिँदादेखिँदै पनि नियमन र रोकथाममा ढिलाइ किन? स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, वन तथा वातावरणसम्बद्ध कार्यालय र सम्बन्धित सरोकारवाला निकायले दोषारोपण होइन, तत्काल संयुक्त पहल गर्नुपर्छ। खोलानदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने, जोखिमयुक्त संरचनाको अध्ययन गर्ने, सरकारी जमिनको उपयोगबारे छानबिन गर्ने र विपद् जोखिम न्यूनीकरणका स्पष्ट मापदण्ड कार्यान्वयन गर्ने बेला यही हो। हिमाल बचे मात्र पानीका मुहान, नदी, खेती, बस्ती र मानव जीवन बच्नेछ। त्यसैले लोभलालचभन्दा माथि उठेर ‘म र मेरो परिवार’ होइन, ‘हामी र हाम्रो भविष्य’ भन्ने सोच विकास गरौँ। समयमै सचेत भएर प्रकृतिलाई सम्मान गरिएन भने मुस्ताङले भोग्नुपर्ने सम्भावित विपत्ति रोक्न धेरै ढिला भइसकेको हुन सक्छ।



प्रतिक्रिया दिनुहोस्