२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

लेखकले देखेनन फेरिएको दलितको परिभाषा

माेनिका परियार


प्रत्येक व्यक्ति जन्मदा स्वतन्त्र रुपमा जन्मन्छन तर अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन्। । जातिको आधारमा मानिस माथि विभाजन र भेदभाव व्यक्तिगत आधारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । ति घटनाहरु कतिपय सार्वजनिक हुन्छन त कति गोप्य नै राखिन्छन । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले कथित तल्लो जात अर्थात दलित सधैं पीडित हुँदै आएका छन । यस्ता घटना वर्षेनी सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसंगत रूपमा सोच्न बाध्य तुल्याइएको छ ।

नेपाली समाजमा केही माध्यम बाट भेदभाव विरुद्ध विभिन्न टेलिसिरियल, नाटक, चलचित्र, गितका माध्यम बाट आवाज जागरुक गर्न खोजिएको छ । यसै त कम मात्रमा बन्ने चलचित्रहरु मध्ये केही समाजमा राम्रो आम्दानी गर्छन त कोहीले ठुलो घाटा व्योहोर्नुपर्छ । समयानुकुलमा यस्ता चलचित्र बनिरहेका छन । यस्तै दलित भेदभाव र छुवाछुतको बारेमा भर्खरै एउटा चलचित्र हेरे र त्यो धेरै प्रभावित पनि रहयो ।

तर यसको विषयवस्तु देखाउने तरिकाले मलाई अप्ठ्यारो महशुुस गरायो । चलचित्रहरूमा दर्शकहरू प्रति विभिन्न प्रकारका सकारात्मक दृष्टिकोण प्रदान गर्ने क्षमता हुन्छ। चलचित्रहरूमा मनोरञ्जन, ज्ञान र प्रेरणा दिने शक्ति हुन्छ । जसले हेर्ने दर्शकहरूलाई सकारात्मकता र समृद्धिको भावना दिन्छ । भर्खरै मात्रमा प्रदर्शनमा आएको चलचित्र हो पूजार सार्की जसले मलाई स्तब्ध बनायो, मानव भएर पनि मानवलाई नै गर्ने व्यवहार देख्दा हाम्रो नेपाली समाज कुन गतिमा कता जाँदै थियो, छ र जानेछ भन्ने कुरालाई सोच्न विवश बनाइदियो।

पूजार सार्की चलचित्रमा दलितहरूले भोग्दै आएको विभेदलाई स्पष्टसँग देखाइएको थियो । उक्त चलचित्रमा लेखिएको र देखाइएको कथा, वास्तविक भोगाइ जस्तै काहली लाग्दो छ । प्रदीप खड्काको अभिनयलाई निकै वास्तविकता देखाइएको थियो। समाजलाई चलाएको शास्त्रमा नै नभएको जात व्यवस्थालाई उन्मूलन गर्नैपर्छ भन्ने आर्यन सिग्देलको बेजोड अभिनय थियो ।

ब्राह्मण जातिका पुजारी आफ्नै घरमा दासीको रुपमा काम गर्दै आएकी युवती दलित समुदायकी (मैया) सँग प्रेम सम्बन्धमा रहेपछि समाज घर परिवार सबैलाई लत्याएर पूजारले आफ्नो प्रेमिकालाई रोजी विवाह गर्छन तर उनको यस्तो कदमले घर, परिवार अनि समाज मात्र नभई पुज्दै आएको देवता समेत त्याग्न बाध्य हुन्छन र सबै त्यागी युवतीको हात थाम्छन ।

विसं २०४६ सालको घटनाक्रमलाई आधार बनाई पोखराको कास्कीकोटमा सुटिङ गरिएको उक्त फिल्म निकै नै राम्रो अभिनय गर्ने नेपालका उत्कृष्ट अभिनेताहरूलाई छनौट गरी प्रस्तुत गरिएको थियो। पल शाह एउटा क्रान्तिकारी पात्रको भूमिकामा प्रस्तुुत गरिएको छ । क्रान्तिले मात्र विभेद नहट्ने कुरा चलचित्रमा स्पष्टसँग दर्शाइएको छ भने राम्रो मौका र अवसर पाए दलित समुदायहरू पनि माथी उठी राज्य शासनमा जान सक्ने जस्ता कुराको चर्चा परिचर्चा भएको थियो।

यो सन्दर्भबाट प्रष्ट हुन्छ कि दलितहरूलाई मानव भएर पनि मानवकै तराजुमा कहिले नतौलिएका रहेछन । मानव भएर जन्म लिए पश्चात मानवी व्यवहारनै नगर्ने यो दलित समुुदायको वेदना हो । कति मारिएका छन त कति जलाइएका, चेलीहरूलाई मानसिक र शारीरिक यातना दिने, पीडा दिने गरेको छन भन्ने उक्त चलचित्रले छर्लङ्ग पारेको छ।

नेपाली समाजमा रगत, सिप, श्रम, सबै चल्छ तर पानी चल्दैन । यसो भन्दै गर्दा चलचित्रमा लगाउने कपडाको शैली भान्सामा पाक्ने खाना, पानी खाने अम्खोरा लिपपोत नभएको आलटाल गरेको घर जस्ता प्रस्तुत दृश्य माथि म असन्तुुष्ट छ । दलित भन्दैमा फोहोर कपडा लगाउने, झैँ झगडा मात्र गर्ने, बोलीको शैली नभएको, सम्मान गर्न नजान्ने, जाँड रक्सी खाएर मातिने भनेर चिनाइदिएको पाइयो । दलित समुदायलाई अझै पनि अस्पश्य वा अनुसूचित जाति भनेर समाजले हामीलाई हेर्ने गर्दछ ।

दलितहरू गरिब मात्र हुन्छन नबुझ्ने हुन्छन, भनेर चलचित्रमा स्पष्टसँग देखाइएको छ । विगतका तीता नमिठा कहाली लाग्दा शोषण दमन उत्पीडन नियन्त्रण हेपाई अवहेलनालाई देखाइएको थियो। काटेको घाउलाई मलमपट्टी लगाउनुपर्छ नाकी कोटाएर नुन छर्किने । चलचित्रमा बोलाइने नाममा समेत विभेदः मैतबहादुर परियारलाई मैते दमै नामले चिनाइन्छ ।

अन्तरजातीय प्रेमले गर्दा नै अन्त्यमा नवराज वि.क लाई झै मारिन्छ र खोलामा लासलाई मुढा पल्टाएझैँ सोत्राङ पारेर छाडिन्छ । न्याय हराउँछ, आन्दोलन हुन्छ तर भनिन्छ नि “काग कराउँदै जान्छ पिना सुक्दैु” हो ठ्याक्कै त्यस्तै दलित युवतीसँग प्रेम अनि विवाह गर्दा जात खसी पूजारले आफूलाई जात खसेको महसुस गर्ने कुराबाट हामीलाई थाहा हुन्छ कि जति नै बुद्धिजीवी, पढे लेखेको भएपनि जातीय विभेद सबैको सोच विचार अनि मनमा जरो गाडेर बसेको छ ।

दलित फोहोरी, भाषा नभएको, अशिक्षितका रुपमा समाजमा चिनारी पाइरहेको अवस्थामा चलचित्रमा पनि उही दृश्य समावेश छ । के यो समाजले दलित प्रति जानेको परिभाषा यहि नै हो ? नेपाली सिनेमा जगतमा यो बाहेक फरक परिभाषा सृजित नभएको हो त ? लेखक आजको दलितको अवस्था बारे अज्ञात हुुन त ?

वर्तमान अवस्थामा दलितको परिवर्तित हाल बारे यो समाज कहिले जानाकार रहन्छ । वर्तमान अवस्थामा हुने आधुनिक विभेदप्रति कहिले सजग रहन्छ यो समाज । हामि विभेद गर्दैनौं भन्ने समाज कोटा र कोठामा किन अड्कीरहेको छ ? के अबको भावी पुुस्ताले पनि यस्तै भाष्यबाट सृजित दलितको परिभाषा पढ्नुु पर्ने हो ?

खोज तलाबाट र सोच माथिबाट हुनुपर्छ । सम्मान व्यवहार सबैलाई गर्नुपर्छ र संविधान र कानुनले जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितकरण र हिंसालाई अन्त्य र निषेध गरेको छ ।

चलचित्र सिकाईका लागि उत्तम माध्यम हो । मानिस पढेका कुरा, सुनेका कुुरा भन्दा देखेको कुुरा बढि याद गर्ने गर्छ । चलचित्र हेर्ने मात्र होइन बुझी व्यवहारमा उतार्न पनि जरुरी छ । समाजमा पहिला यस्तो कुपर्था थियो र आउने भोलिको दिनमा यस्ता कुपर्थाको फेरि जन्म नहोस भन्ने सन्देश दिन जरुरी छ । हामी कुन जात हो भन्दा पहिले हामी सबै नेपाली हौ भन्ने भावना प्रत्येक नेपाली नागरिकको हुनुपर्छ । जात आआफ्नो पहिचान हो । आफ्नो मूल धरातललाई जोगाउनु प्रत्येक जातिको कर्तव्य पनि हो । जातको नाम लिँदा केही भएन तर अपमान भेदभाव गर्नुभएन ।

जातीय छुवाछुत ,भेदभाव वा छुवाछुतका पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । त्यसैले जातीय छुवाछुतका पीडा अन्त्य गर्दै मानव अधिकार संरक्षण गर्न सम्पूर्ण व्यक्ति परिवार समाज तिनै तहका सम्पूर्ण सरकारी निकाय राजनीतिक दल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, मिडिया र आम नागरिक हरू सम्बन्धित सबैमा विभेद उन्मुलनका लागि आह्वान गर्दछु । तसर्थ राज्यले भेदभावरहित व्यवस्था सुनिश्चित गर्नका लागि कानुन र नीतिहरूलाई आधा वधिक गरी उचित कार्यान्वयनको सुनश्चितता गर्नुपर्छ नागरिक समाज संगठन र जिम्मेवार निकायले जातीय विभेद उन्मूलन गर्ने जनतालाई शिक्षित गर्न समाजिक आन्दोलनलाई सहज बनाउनुपर्छ । छुवाछुत जन्य व्यवहारलाई रोक्ने समय आइसकेको छ नेपालमा विद्यमान जातीय विभेद अन्त्य गर्न सहकार्य गरौं र गराउँ ।

प्रतिक्रिया दिनुहोस्