२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

नेकपा एसमा एमाले कास्की नेता तोरण र पर्वतका नेता वैकुण्ठको नेतृत्वमा ४४७ जना प्रवेश

 

पोखरा, ०९ साउन । नेकपा एमाले कास्की र पर्वतका प्रभावशाली नेता तथा कार्यकर्ताहरू समेत गरी चार सय ४७ जना नेकपा एस (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले कास्कीका पूर्व जिल्ला कमिटी सदस्य तोरणबहादुर केसीको नेतृत्वमा ९७ जना तथा एमाले पर्वतका जिल्ला कमिटी सचिवालय सदस्य वैकुण्ठ प्रसाद भुसालको नेतृत्वमा तीन सय ५० जना नेता तथा कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गरेको कास्कीका प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेका जिल्ला, नगर र वडा कमिटी, अखिल नेपाल महिला संघ, युवा संघ नेपाल, बुद्धिजीवी परिषद् र मुक्ति मोर्चा सहितका प्रभावशाली नेता तथा कार्यकर्ताहरूले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी नेता तथा कार्यकर्तालाई ४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले सोमवार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अवीर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

नेपालको कम्युनिस्ट इतिहासमा पुष्पलालको योगदानको चर्चा गर्दै अध्यक्ष नेपालले नेपालमा कम्युनिस्ट जनमत बलियो रहेको धारणा व्यक्त गर्नुभयो । जनताले कम्युनिस्टलाई इतिहासमै पहिलो पटक दुई तिहाइ जनमत दिलाए पनि तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले आफूलाई मात्र केन्द्रमा राखी अहंकार देखाएर त्यसलाई क्षत विक्षत पारेको आरोप लगाउनुभयो ।

‘नेकपाको दुई तिहाइ बहुमत थियो, यति राम्रो अवसर प्रयोग गरेको भए वास्तवमा कम्युनिस्ट पार्टी अत्यन्त लोकप्रिय हुँदै जाने थियो । अहिले स्थानीय निर्वाचनमा धेरै सिट हासिल गर्ने थियौँ । तर सबै को बाट बिग्रियो त भन्दा एमालेका नेता केपी ओलीबाट’, अध्यक्ष नेपालले भन्नुभयो ।

ओलीको एकलकाँटे प्रवृत्तिविरुद्ध आवाज उठ्न थालेपछि ओलीले आफू सिद्धिने डरले २-२ पटक संसद् विघटन गरेको उहाँको दाबी थियो । संविधानको रक्षा गर्न आवाज उठाउँदा आफूहरूलाई पार्टीबाट निकालिएको उहाँले बताउनुभयो।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन आगामी प्रतिनिधिसभा निर्वाचनसम्म कायमै रहने बताउनुभयो । तर नेकपा एसलाई कमजोर ठानेर उभ्रेको सिट दिउला भन्ने मनसाय पार्टीहरूले देखाए नेकपा एस आफ्नै शक्तिमा भरोसा गरेर अघि बढ्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्