कल्भर्ट पाइपबाट खोलाको पानीलाई उचित निकास, घमी खोला पुलनजिक सडक स्तरोन्नति; स्थानीय जनप्रतिनिधि र सरोकारवालाको संयुक्त पहल
जोमसोम, मुस्ताङ । लामो समयदेखि समर खोलामा आउने बाढीका कारण सडक मुनिको कल्भर्ट पाइप थुनिएर खोलाको पानी सडकबाटै बग्दा सवारी आवागमनमा समस्या हुँदै आएकोमा उक्त अवरोध हटाइएको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेम्बेल (राजु विष्ट) सहित स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सक्रियतामा खोलाको पानीलाई उचित निकास दिँदै सडक आवागमन सहज बनाउने काम गरिएको हो।

समर खोलामा बाढी आउँदा सडक मुनि जडान गरिएको कल्भर्ट पाइप थुनिने र खोलाको सम्पूर्ण पानी सडक माथिबाट बग्ने समस्या लामो समयदेखि कायम थियो।
यसले सवारी साधन सञ्चालनमा कठिनाइ सिर्जना गर्नुका साथै यात्रु तथा स्थानीयवासीलाई समेत सास्ती दिँदै आएको थियो। विशेषगरी हिउँदमा सडकमा पानी जमेर बरफ बन्ने हुँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने जोखिम रहँदै आएको थियो।
समस्या समाधानका लागि २०८३ कार्तिक १७ गते समर खोला आसपासको क्षेत्रमा सफाइ गरिएको थियो। त्यसपछि कार्तिक २० गते खोलाको पानीलाई व्यवस्थित निकास दिन सडक मुनिको कल्भर्ट पाइपबाट खोलाको बहाव सञ्चालन हुने गरी अवरोध हटाइएको छ। यससँगै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रअन्तर्गत घमी खोला पुलनजिकको सडकमा पनि सवारी आवागमनलाई सहज र सुरक्षित बनाउन स्तरोन्नति कार्य गरिएको छ।

वर्षौंदेखि दोहोरिँदै आएको समस्यालाई सामान्य मर्मतसम्भारमा सीमित नराखी खोलाको बहाव व्यवस्थापन र सडक सुधारलाई एकसाथ अघि बढाइएको अध्यक्ष विष्टले बताएका छन्। उनका अनुसार सडकमा पानी बग्ने र हिउँदमा जमेर बरफ बन्ने समस्याले स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकले ठूलो जोखिम र सास्ती खेप्दै आएका थिए। पछिल्लो पहलले उक्त समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त कार्य सम्पन्न गर्न सडक विभागको टोलीले प्राविधिक तथा अन्य सहयोग गरेको थियो। त्यसैगरी, लोडर उपलब्ध गराई सहयोग गर्ने पूर्य संघ माननीय प्रेमप्रसाद तुलाचन र डोजर उपलब्ध गराई सहयोग गर्ने छुसाङका कान्छा गुरुङप्रति अध्यक्ष विष्टले आभार व्यक्त गरेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ छुसाङका वडाध्यक्ष विनोद गुरुङसहितको टोली र आफू स्वयं दुई दिनसम्म प्रत्यक्ष रूपमा कार्यस्थलमा खटिएर विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिसँग समन्वय र सहकार्य गरेको बिष्टले बताएका छन्।

अध्यक्ष विष्टले सानो पहल, सामूहिक सहकार्य र साझा प्रयासबाट पनि जनताको दैनिक आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सकिने उल्लेख गरेका छन्। सडकमा वर्षौंदेखि दोहोरिँदै आएको समस्यालाई समाधान गर्न गरिएको यो पहलले स्थानीयवासी तथा यात्रुहरूलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै उनले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्।
तर, समर खोला र घमी खोला आसपासको सडकलाई बाढी तथा हिमपातको जोखिमबाट दीर्घकालीन रूपमा सुरक्षित राख्न नियमित अनुगमन, प्रभावकारी निकास व्यवस्था र आवश्यक संरचनागत सुधार पनि उत्तिकै आवश्यक देखिन्छ। तत्कालको अवरोध हट्नु सकारात्मक भए पनि समस्या पुनः नदोहोरिने गरी दिगो समाधानतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।



प्रतिक्रिया दिनुहोस्