जोमसोम मुस्ताङ । भारी वर्षा, बाढीपहिरो र सडक कटानबाट प्रभावित मुस्ताङको जनजीवन सहज बनाउन गत असोज २३ गते जिल्ला विपद् व्यवस्थापन समितिले सडक यातायात, विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा सुधारदेखि क्षतिको विवरण संकलन र पुनर्निर्माणसम्मका विषयमा ६ वटा निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले अवरुद्ध तथा क्षतिग्रस्त पूर्वाधार तत्काल सुधार गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउने निर्णय गरेको हो।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोले मुस्ताङका विभिन्न स्थानमा सडक, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि जिल्ला प्रशासनले पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राखेको हो। बैठकले स्थानीय तहलाई क्षतिको विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्नसमेत निर्देशन दिएको छ।
कोरला नाकादेखि बेनीसम्म सडक सहज बनाउन पहल
बैठकले मुस्ताङको कोरला नाकादेखि म्याग्दी जिल्लाको सीमासम्मको सडक यातायात सहज बनाउन विशेष पहल गर्ने निर्णय गरेको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा अवरुद्ध तथा क्षतिग्रस्त सडकका कारण मालवाहक कन्टेनर सञ्चालनमा कठिनाइ भएपछि म्याग्दी जिल्लासँग समन्वय गरेर यातायात सहज बनाइने भएको हो। जिल्ला सुरक्षा समितिले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सडक आवागमन सुचारु गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेको छ।
विद्युत्, टेलिफोन र इन्टरनेट सेवा सुधार्न निर्देशन
लामो वर्षा र बाढीपहिरोका कारण अवरुद्ध विद्युत् आपूर्ति सहज बनाउन निलगिरी उपभोक्ता सहकारी संस्था, थापाखोला आयोजना र धवलागिरी आयोजनासँग समन्वय गर्ने निर्णय गरिएको छ। त्यसैगरी, टेलिफोन तथा इन्टरनेट सेवामा देखिएका समस्या यथासम्भव छिटो समाधान गर्न नेपाल टेलिकमलाई निर्देशन दिने र व्यावसायिक प्रयोजनका उपभोक्तालाई समेत सेवा अवरोधबारे सचेत गराउने निर्णय बैठकले गरेको छ। सडक, विद्युत् र सञ्चार सेवा एकैपटक प्रभावित हुँदा सरकारी सेवा प्रवाह, व्यवसाय, पर्यटन र सर्वसाधारणको दैनिक जीवनमा परेको असरलाई मध्यनजर गर्दै सेवा पुनःस्थापनामा सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।
क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न निर्देशन
मुस्ताङ जिल्लाका प्रादेशिक सडकहरू आकस्मिक रूपमा मर्मत गर्न पूर्वाधार विकास कार्यालय मुस्ताङलाई निर्देशन दिई गण्डकी प्रदेश सरकारलाई समेत जानकारी गराउने निर्णय गरिएको छ। त्यसैगरी, कागबेनी–मुक्तिनाथ र लेते छोयो जोड्ने सडकसहितका क्षतिग्रस्त सडकको तत्काल मर्मतसम्भार र निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ। अविरल वर्षाका कारण अवरुद्ध सडकहरू पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ढिलाइ नगरी आवश्यक काम अघि बढाउनुपर्ने बैठकको निष्कर्ष छ।
इन्धन र पुनर्निर्माणमा सबै पक्षको सहयोग आह्वान
सडक सुधार तथा यातायात सञ्चालनमा इन्धनलगायत आवश्यक सहयोग जुटाउन सबै व्यक्ति, प्रतिनिधि, सरोकारवाला, स्थानीय तह र सम्बन्धित निकायलाई आह्वान गरिएको छ। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनासहित सहयोगी निकायलाई धन्यवाद दिँदै जोमसोम विमानस्थलको तत्कालीन अवस्था र वायुसेवाको चापलाई मध्यनजर गरी थप उडान सञ्चालनका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, विद्युत् तथा सञ्चार कार्यालय, पूर्वाधार विकास कार्यालय, राजनीतिक दल, सञ्चाकर्मी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो।
मुस्ताङको चुनौती अब सडक खोल्नुमा मात्र सीमित छैन। सडक, विद्युत् र सञ्चारजस्ता आधारभूत सेवा एकैपटक प्रभावित हुँदा जिल्लाको आर्थिक गतिविधि, पर्यटन, आपूर्ति व्यवस्था र सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर परेको छ। बैठकका निर्णय कागजमा सीमित नराखी सम्बन्धित निकायले समयमै कार्यान्वयन गर्न सके मात्र विपद्बाट प्रभावित जनजीवन सामान्य अवस्थामा फर्काउन सहज हुनेछ।



प्रतिक्रिया दिनुहोस्