गत वर्ष चिन्ताका ३६ र मदिरा सेवनसम्बन्धी विकारका २६ घटना अभिलेख; मानसिक स्वास्थ्य सेवा विस्तार र प्रभावकारी उपचारमा जोड
असोज २४, जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङमा मानसिक स्वास्थ्यसम्बन्धी समस्यामध्ये चिन्ता पहिलो र मदिरा सेवन सम्बन्धी विकार दोस्रो स्थानमा देखिएका छन्। स्वास्थ्य कार्यालय, जोमसोमले विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा चिन्ता सम्बन्धी ३६ र मदिरा सेवनसम्बन्धी विकारका २६ घटना अभिलेख गरिएका छन्। त्यस्तै, डिप्रेसनका पाँच, मनोविकृतिका चार र आत्महत्याको प्रयाससम्बन्धी २ घटना पनि अभिलेखमा समेटिएका छन्।
स्वास्थ्य कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ मा चिन्ता सम्बन्धी ६ र मदिरा सेवनसम्बन्धी विकारका ८ घटना उल्लेख छन्। सोही अवधिमा डिप्रेसन, मनोविकृति र आत्महत्याको प्रयाससम्बन्धी तथ्याङ्क शून्य देखाइएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने, प्रभावित व्यक्तिलाई दोष दिने र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न हिचकिचाउने प्रवृत्तिले वास्तविक अवस्था पहिचानमा चुनौती थप्न सक्ने कार्यक्रममा बताइएको थियो।

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को सन्देश ‘जीवन्त अनुभवको सुनुवाइः वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ। कार्यक्रममा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसँग अभिन्न रूपमा जोडिएको विषय, समग्र कल्याणको आधार र मानव अधिकारका रूपमा व्याख्या गरिएको थियो। मानसिक स्वास्थ्य परामर्श, आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६, टेलिमानसिक स्वास्थ्य सेवा तथा आवश्यकताअनुसार उपचार र प्रेषण प्रणालीको महत्त्वबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख भुवन ठकुराठीले मानसिक स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. प्रदीप कुमार दासको उपस्थिति रहेको थियो। प्रदेश अस्पतालकी निमेसु प्रतिक्षा गौतमको उपस्थिति थियो । प्रदेश आयुर्वेद चिकित्सालयका निकाप्र दिनेश आचार्यले पनि मानसिक स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा घरपझोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्ण थकाली, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, जनहित माध्यमिक विद्यालय, धौलागिरी आ माध्यमिक विद्यालय तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा भौगोलिक रूपमा विकट मुस्ताङमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। दुर्गम बस्तीबाट स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने समय, विशेषज्ञ जनशक्तिको सीमित उपलब्धता, औषधि तथा परामर्श सेवाको अभाव र मानसिक समस्याप्रतिको सामाजिक लाञ्छनाका कारण उपचारमा ढिलाइ हुन सक्ने भएकाले आधारभूत स्वास्थ्य संस्थाबाटै प्रारम्भिक पहिचान तथा परामर्श सेवा उपलब्ध गराउनुपर्ने बताइएको थियो।
मानसिक स्वास्थ्यलाई स्थानीय तहको स्वास्थ्य योजना र बजेटमा प्राथमिकताका साथ समावेश गर्दै नियमित तथ्याङ्क सङ्कलन, जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मीलाई तालिम, आवश्यक औषधिको नियमित व्यवस्था तथा जटिल अवस्थाका बिरामीलाई विशेषज्ञ सेवामा पठाउने प्रणाली प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। परिवार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, प्रहरी, विद्यालय र समुदायको सहकार्यमा प्रभावित व्यक्तिलाई भेदभावरहित तथा सम्मानजनक वातावरणमा उपचार उपलब्ध गराउन सके मानसिक स्वास्थ्य सेवा प्रभावकारी बन्ने निष्कर्ष निकालिएको थियो।
मानसिक स्वास्थ्य दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी चिन्ता, मदिरा सेवनसम्बन्धी विकारलगायत समस्याको समयमै पहिचान, परामर्श र उपचार सुनिश्चित गर्नु मुस्ताङका लागि प्रमुख चुनौती बनेको छ।



प्रतिक्रिया दिनुहोस्