मुस्ताङ, असोज ५ । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोको प्रत्यक्ष असर मुस्ताङमा नदेखिए पनि त्यसको असर हिमालपारिको पर्यटनमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा मुस्ताङ भित्रिने पर्यटकको संख्या २९ हजार २ सय ७४ ले घटेको छ।
चालु आर्थिक वर्षको साउनमा ६१ हजार २६३ जना पर्यटक मुस्ताङ आएका थिए। तर भदौमा यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भयो। अर्थात् एक महिनामै पर्यटक आगमन ४७ दशमलव ७८ प्रतिशतले घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
भदौमा आन्तरिक पर्यटकको संख्या मात्रै १४ हजार १५२ ले घटेको छ। साउनमा ३० हजार ६५५ आन्तरिक पर्यटक आएकामा भदौमा १६ हजार ५०३ मात्रै आएका छन्। त्यस्तै सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ ले घटेका छन्। साउनमा ३० हजार ४१५ सार्क पर्यटक आएकामा भदौमा १५ हजार १३८ जनामा सीमित भए। तर अन्य मुलुकका पर्यटक भने उल्टै बढेका छन्—साउनको १९३ बाट भदौमा ३४८ जना पुगेका छन्।
मुस्ताङको पर्यटनमा यो गिरावट आउनुमा रसुवा विपद्पछिको राष्ट्रिय मनोविज्ञान, यात्राको सुरक्षा चासो तथा सडक अवस्थाप्रतिको धारणा कारण हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले रसुवा घटनापछि देशभर शोकको वातावरण बनेकाले पर्यटक आवागमन प्रभावित भएको हुनसक्ने बताएका छन।
रोचक पक्ष के छ भने साउन महिनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड बाढी, पहिरो र नदी कटानका कारण पटक–पटक अवरुद्ध हुँदा पनि पर्यटक आगमन उच्च थियो। तर भदौमा सडक अवरोधको मात्र प्रश्न नभई विपद्पछिको यात्राप्रतिको मनोवैज्ञानिक प्रभावसमेत पर्यटक आगमनमा देखिएको तथ्यांकले संकेत गरेको छ।
चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा भने मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र पर्यटक संख्या बढे पनि साउनबाट भदौमा आएको तीव्र गिरावटले मुस्ताङको पर्यटन क्षेत्रलाई सडक सुरक्षा, विपद् व्यवस्थापन र पर्यटकलाई सही सूचना प्रवाहको चुनौती थपिएको देखाएको छ।



प्रतिक्रिया दिनुहोस्