मुस्ताङ, भदौ २० । ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारासहित मुस्ताङको जोमसोममा मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइएको छ।
दिवसको अवसरमा धौलागिरि बोर्डिङ स्कुल, जोमसोमका ५० भन्दा बढी विद्यार्थीले सचेतनामूलक र्याली निकाल्दै बजार परिक्रमा गरेका छन्। विद्यार्थीहरूको सहभागितामा निकालिएको र्यालीले मानव बेचबिखन जस्तो गम्भीर सामाजिक अपराध विरुद्ध समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने सन्देश दिएको छ।
र्यालीमा सहभागी विद्यार्थीहरूले मानव बेचबिखन रोकथाम, प्रविधिको सुरक्षित प्रयोग तथा सम्भावित जोखिमप्रति सजग रहनुपर्ने विषयलाई प्राथमिकतामा राखेका थिए। पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तारसँगै यसको दुरुपयोगबाट मानव बेचबिखन तथा शोषणका जोखिमसमेत बढ्न सक्ने भएकाले बालबालिका तथा युवालाई डिजिटल सुरक्षाबारे सचेत बनाउनुपर्ने आवश्यकता ¥यालीमार्फत औँल्याइएको थियो।
विद्यालयबाट सुरु भएको र्याली जोमसोम बजारका विभिन्न क्षेत्र परिक्रमा गर्दै मानव बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धताको सन्देश प्रवाह गरेको थियो। विद्यार्थीहरूको उल्लेख्य सहभागिताले दिवसलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकालेर सार्वजनिक सचेतनासँग जोड्ने प्रयास गरेको देखिएको थियो।
मानव बेचबिखन व्यक्ति तथा परिवारको मात्र समस्या नभई समाज र राज्यकै साझा चुनौती भएकाले यसको रोकथामका लागि घर, विद्यालय, समुदायदेखि राज्यका सबै तह जिम्मेवार बन्नुपर्नेमा ¥यालीले जोड दिएको थियो। विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई अपरिचित व्यक्ति, भ्रामक सूचना, प्रलोभन र सामाजिक सञ्जालमार्फत हुन सक्ने जोखिमबारे समयमै सचेत गराउनुपर्ने आवश्यकता रहेको सन्देश कार्यक्रममा प्रस्तुत गरिएको थियो।
मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसले वर्षमा एक दिन हुने औपचारिक कार्यक्रमभन्दा पनि निरन्तर सामाजिक अभियानको स्वरूप लिनुपर्ने देखिन्छ। विद्यार्थी, अभिभावक, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय तथा समुदायबीच समन्वय बढाउँदै प्रविधिको सुरक्षित प्रयोग र सम्भावित जोखिमको पहिचानमा जोड दिन सके मानव बेचबिखनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्