२०८३ श्रावण २९
९८५७६५०३३४, ९८५७६५००९३

७५३ स्थानीय तहको सहभागितामा मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुँदै : अध्यक्ष लालचन

मुस्ताङ । हिमालपारीको जिल्लामा जलवायु परिवर्तनबाट उत्पन्न संकट, प्रभाव र अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्न मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते जोमसोममा ऐतिहासिक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा सहभागिताका लागि गाउँपालिकाले बुधबार देशभरका ७५३ स्थानीय तहलाई निमन्त्रणा पठाएको हो।

संघीय मामिला मन्त्रालयको समन्वयमा पठाइएको पत्रमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख वा अध्यक्षसहित दुई जना प्रतिनिधिलाई सहभागी गराउन आग्रह गरिएको छ। प्रतिनिधिको नामावली भदौ १५ गतेभित्र पठाउनुपर्ने व्यवस्था गरिएको कुरा पालिकाले जानकारी गराएको छ।

कालीगण्डकी नदी किनार, मुक्तिनाथधाम र नीलगिरी हिमालको काखमा हुने सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले निम्त्याएका समस्या, जोखिम तथा असरबारे छलफल गरिनेछ। हिमनदी पग्लिँदै जानु, हिमालमा हिउँ घट्नु, बाढी–पहिरो तथा नदी कटान बढ्नु, खानेपानीका मुहान सुक्नु, चरन क्षेत्र घट्नु र मानव–वन्यजन्तु द्वन्द्व बढ्नुजस्ता विषयलाई प्राथमिकताका साथ उठाइने घरपझोङ गाउँपालिकाको अध्यक्ष मोहनसिंह लालचनले बताए ।

जलवायु परिवर्तनको प्रभाव कृषि, पशुपालन, जैविक विविधता, पर्यटन तथा स्थानीय धर्म–संस्कृतिमा समेत परेको विषयमा सम्मेलनले साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। स्थानीय तहबाट प्राप्त सुझाव र अनुभवलाई समेटेर ‘घरपझोङ जलवायु घोषणापत्र २०८३’ जारी गर्ने तयारी गरिएको कुरा उपाध्यक्ष जमुना थापा मगरले बताएकी छिन् ।

सम्मेलनमा जलवायुजन्य असर झल्काउने तस्बिर प्रदर्शनीसमेत गरिनेछ। त्यसका लागि सम्बन्धित स्थानीय तहलाई भदौ १५ गतेभित्र फोटो तथा जलवायु प्रभाव र अनुकूलन सम्बन्धी आफ्ना धारणा पठाउन आग्रह गरिएको कुरा प्रमुख प्रशासकीय अधिकृत भिम कुमार बस्नेतले बताए ।

मुस्ताङका स्थानीय तह तथा भगिनी सम्बन्धमा रहेका स्थानीय तहको सहकार्यमा आयोजना हुने सम्मेलनमार्फत जलवायु संकट विरुद्ध स्थानीय तहको साझा आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने घरपझोङ गाउँपालिकाको उद्देश्य रहेको कुरा अध्यक्ष लालचनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्