२०८२ असार १७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा उन्नाइसौं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भब्यताका साथ मनाए ( तस्विर सहित )

जेठ २६ जोमसोम, मुस्ताङ । जातीय विभेद तथा छुवाछुत उन्मूलनको मागसहित मुस्ताङमा १९औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुधवार बाजागाजासहित र्‍याली निकालिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजित यो कार्यक्रममा दलित समुदायले जातीय विभेद, हिंसा, उत्पीडन तथा असमानताको अन्त्यको माग गर्दै सशक्त प्रदर्शन गरेका हुन् ।

‘नेपाल भरिका दलितहरू एक हौं’ नारासहित आयोजित र्‍यालीमा दलित अधिकारकर्मीहरू, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पुथाङ एयरपोर्टबाट सुरु भएको र्‍याली बाजागाजासहित जोमसोम बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भयो । महिला अधिकारकर्मीहरू नाचेर र्‍यालीको रौनकता बढाएका थिए ।

र्‍यालीपछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रशासन, प्रहरी, सरकारी वकिलको कार्यालय, नागरिक समाज तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज भीमबहादुर रसाईलीले जातीय छुवाछुत उन्मूलन दिवस औपचारिक रूपमा घोषणा गरिए पनि व्यवहारिक रूपमा विभेद अझै कायम रहेको औंल्याउँदै दलित न्याय, मुक्ति तथा समानताको लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल ले जातिगत आधारमा कुनै पनि समुदायमाथि हुने हिंसा, भेदभाव तथा असमानता कानूनी रूपमा क्षम्य नहुने बताउँदै संविधानमै जातीय विभेदविरुद्ध कडा कानूनी व्यवस्था गरिएको स्पष्ट पारे ।

प्रस्तोता आदित्य रसाईलीले जातीय छुवाछुत तथा उन्मूलनका विषयमा प्रस्तुतीकरण गरेका थिए । छलफलको क्रममा सहभागीहरूले जातीय विभेद विरुद्धका अभियान औपचारिकतामा मात्र सीमित हुने गरेको प्रति चिन्ता व्यक्त गरे । साथै, दलित समुदायभित्रै देखिने आर्थिक, सामाजिक, तथा राजनीतिक असमानता समाधान नभएसम्म पूर्ण हक–अधिकार प्राप्त गर्न कठिन हुने विषयमा गम्भीर बहस भयो ।

कार्यक्रमले जातीय विभेदविरुद्ध दलित समुदायको एकताको महत्व उजागर गर्दै सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको लागि निरन्तर संघर्ष आवश्यक रहेको सन्देश प्रवाह गरेको छ ।

सभाध्यक्ष तिलक बि.कको अध्यक्षतामा सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरि समारोहको आरम्भ भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दुर्गा देवी रसाइलीबाट भएको थियो ।

कार्यक्रममा महिला उद्यमी संघ नेपाल मुस्ताङकी अध्यक्ष सुकुन रसाइली, नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश सदस्य सुक बहादुर बि.क, जिसस सदस्य बिन्दु नेपाली, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता देबेन्द्र राज आचार्यले जातिय विभेद सम्बन्धीत विविध विषयहरुमाथी कानुनी कुरामा प्रकाश पारेका थिए भने नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य धिरेन्द्र बि.क.ले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्