मुस्ताङ: कोेष तथा लेखा नियन्त्रक कार्यालय, जोमसोमले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण व्यवसायीहरूलाई लक्षित गर्दै अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्न र करको दायरामा आउन कडा निर्देशन जारी गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गर्दै विद्यमान अन्तःशुल्क ऐन तथा नियमावलीअनुसार तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने व्यवसायीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।
कार्यालयका अनुसार, अन्तःशुल्क ऐन, २०५८, अन्तःशुल्क नियमावली, २०५९ र मदिरा ऐन, २०३१ तथा मदिरा नियमावली, २०३३ बमोजिम अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको उत्पादन, सञ्चय र बिक्री वितरण गर्ने कुनै पनि फर्म वा व्यवसायीले साउन मसान्तभित्र अनिवार्य रूपमा आफ्नो इजाजतपत्र नवीकरण गरिसक्नुपर्नेछ। निर्धारित समयभित्र नवीकरण नभएमा प्रत्येक तीन महिनामा २५ प्रतिशतका दरले जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ।
यसैगरी, कार्यालयले आर्थिक ऐन, २०८३ अन्तर्गत करको दायरा बाहिर रहेका व्यवसायीहरूलाई सहज बनाउने उद्देश्यले एक विशेष अवसर प्रदान गरेको छ। स्थायी लेखा नम्बर (PAN) नलिएका, PAN लिएर पनि कारोबार नगरेका, आय विवरण नबुझाएका वा नवीकरण नभएका करदाताहरूलाई कानुनको दायरामा आउन वा व्यवसाय व्यवस्थित ढङ्गले बन्द गर्न कार्यालयले आह्वान गरेको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, जोमसोमका अनुसार, इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्नु कानुनविपरीत कार्य हो। तसर्थ, सम्बन्धित सबै व्यवसायीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्न र जरिवानाबाट बच्न अनुरोध गरिएको छ। थप जानकारीका लागि कार्यालयको फोन नम्बर ०६९-४४०१४० मा सम्पर्क गर्न सकिनेछ।





प्रतिक्रिया दिनुहोस्