२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

भारतीय राजदुतावासको सहयोगमा बन्ने भए गुम्बा र विद्यालयको भवन

 

कार्तिक २२, जोमसोम / भारतीय राजदुतावासले उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा रहेको एक गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ । लोमन्थाङ १ मा रहेको निफुक नर्वुलिङ गुम्बाको आवासीय भवन र लोमन्थाङ २ मा रहेको दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो ।

लोमन्थाङ १ को निफुक नर्वुलिङ गुम्बा आवासीय भवनका लागि ४ करोड ४० लाख र दिव्य दीप माध्यमिक विद्यालयको आवासीय भवन निर्माणको लागी ४ करोड ३२ लाख लागत लाग्ने अनुमान गरिएको छ । भवन निर्माण गर्न लोमन्थाङ गाउँपालिकाले २० प्रतिशत र भारतीय दुतावासले ८० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने गरी मंगलबार काठमाडौंमा सम्झौता भएको लोमन्थाङका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए ।

भारतीय दुतावासको सहयोगमा बन्ने दुई आवासीय भवनको कुल लागत ८ करोड ७२ लाख रहेको योजनाको लोमन्थाङ गाउँपालिकाले सम्झौता बमोजिम १ करोड ७४ लाख ४० हजार व्यहोर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्ययाले हिमालपारिको आवाजलाई जानकारी दिए ।

आवासीय भवनको पूर्वाधार निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । भारतीय दुतावासका तर्फबाट प्रथम सचिव करुण बन्सेल ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । भवन निर्माणको काम १५ महिनामा सक्ने गरी समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्