२०८१ मंसिर २७
९८५७६५०३३४, ९८५७६५००९३

सुन तस्करले कार्गोबाटै भित्राउन थाले सुन, तस्करीमा हाई प्रोफाइल व्यापारी

यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’

काठमाण्डाैंः करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले मगाएको अर्को खेप सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको छ । सोही कम्पनीको नाममा सामान भन्सार आइपुगेपछि अनुसन्धान गर्नका लागि राजश्व अनुसन्धान विभागको टोली भन्सार कार्यालय पुगेको छ । टोलीले आइपुगेको सामानको अनुसन्धान सुरु गरेको छ ।

यसअघि, विभागकै टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन समातेको थियो । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।

रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले जानकारी  दिए ।

निरन्तर बदनाम भन्सार

हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे।

चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए।

यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए।

फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन।

ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक(पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।

यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन रु भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ ।

‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’

थप १०० केजी सुन विमानस्थलभित्रै रहेको आशंका

त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ ।

विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ ।

विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो । अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ ।

विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थान खानतलासी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्