जाेमसाेम÷हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका देशभरिका स्थानीय तहमध्ये आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने पहिलो पालिका बनेको छ । गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षकोे बजेट पारित गर्दै देशकै पहिलो पालिका बनेको हो ।
स्थानीय विकास मन्त्रालयको बेवसाईडमा उपलव्ध विवरण अनुसार अहिलेसम्म ७५३ स्थानीय तहमध्ये घरपझोङको मात्रै बजेट तथा कार्यक्रम पारित भएको विवरण अध्यावधिक छ । बजेट सार्वजनिक गर्दै उपाध्यक्ष जमुना थकालीले ‘समावेशी रुपान्तरण, प्रकृति संरक्षण र संस्कृति, कृषि, पर्यटन, पूर्वाधार घरपझोङको समृद्धि’ मुल नारा साकार पार्ने बजेट ल्याएको बताईन् । गाउँपालिकाको १२ औं गाउँसभाले २९ करोड ९६ लाख बराबरको अनुमानित बजेट पारित गरेको छ ।
घरपझोङले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १८ करोड ४३ लाख १८ हजार र पुँजिगत विकास खर्चतर्फ ११ करोड ५३ लाख ४१ हजार बजेट विनियोजन गरेको हो । कुल बजेटअन्तर्गत संघीय सरकारको अनुदान २७ करोड १० लाख, प्रदेशको अनुदान १ करोड ९६ लाख र गाउँपालिकाको आन्तरिक श्रोत ९० लाख १० हजार अनुमान गरिएको छ ।
घरपझोङले आगामी आर्थिक वर्षका लागि केही नयाँ कार्यक्रम ल्याएको छ । उपाध्यक्ष थकालीका अनुसार यसपटक पालिकाले जनतासंग साझेदारी कार्यक्रम संञ्चालनमा ल्याएको छ । यसका लागि पालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष थकालीले बताईन् ।
प्रतिक्रिया दिनुहोस्