स्थानीय निर्वाचनले जगाइदिएको नयाँ भरोसा

भनिन्छ प्रतिज्ञाहरु त्यतिखेर सुरु हुन्छन्, जब आशाका धूमिल किरणहरु पनि अस्ताइसकेका हुन्छन् र सपनाहरु मूर्झाइ सकेका हुन्छन् । यो स्थितिमा सपनाको नयाँ बिज पनि अंकुरण भएर आउने अवस्था सँगै भित्रिन्छ । अहिले नेपाली राजनीतिको रुमल्लिएको बादलभित्र चाँदीको रंगीन घेरा देखिएको छनक मिल्न थालेको छ । नयाँ पुस्ताको मतदाताको मुहारमा देखिएको उत्साहको सुनौलो लालिमाले त्यस्तै कुराको संकेत गर्छ ।
संविधानतः पाँच बर्षमा हुने र यसले निर्दिष्ट गरेको ढाँचामा आसन्न स्थानीय तहको निर्वाचन बिना भवितव्यले सफलतापूर्वक सम्पन्न पनि भइसकेको छ र जनताका नयाँ प्रतिनिधि पनि निर्वाचित भएका छन् । यद्यपि कार्यपालिका सदस्यको चयन र जिल्ला समन्वय समितिको गठन लगायतका निर्वाचनका कार्यहरू बाँकी नै छन् । र, यो बिचमा प्रतिनिधिहरु तानातानको परिदृश्य पनि सतहमा देखिएकै छन् । मूलतः जनताको आधारभूत समस्या र गुनासो जोडिने स्थानीय तह विगत समयमा जस्तो रिक्ततामा नगएर निर्वाचित भएर आउनु सकारात्मक नै छ ।
यो चुनाव हुँदै गर्दा देखिएको भड्किलो प्रचार, आडम्बरी खर्च, खरिदबिक्रीको चर्चा, इन्धनको खपत जस्ता गतिविधि देख्दा सामान्य जनले नेतृत्वमा पुग्न अझै कठिनाई हुने र विचारमा जति समृद्ध भए पनि पुँजीमा कमजोर मान्छे प्रतिष्पर्धा नै गर्न जटिल हुने स्थिति देखिएको कुरालाई नकार्न सकिएन । क्रियाशील दलमा उम्मेदवार छनोटमा हुने लम्बेतान प्रक्रिया र तिकडमबाजी त यथावत नै छँदैछ । जसबाट इमान्दार प्रयास गर्ने कार्यकर्ताहरु उत्पीडनमा पारिने पनि हुँदोरहेछ, जुन अत्यन्तै दुःखद छ र यो नै अहिले देखिएको राजनीतिको मुख्य जड र तीतो यथार्थ हो ।
राजनीतिमा खास समय र परिस्थिति अनुसार पात्रहरु फेरिने पनि हुँदो रहेछ । यही सेरोफेरोमा राजनीतिका पूर्व मान्यताहरुलाई गर्लम्मै ढाल्दै जनताले यो पल्ट नयाँ स्वतन्त्र उम्मेदवारलाई जिताएर अचम्मको प्रयोग गरेका छन् । सुषुप्त बोलीलाई मुखरित हुने बलियो आवाज बनाइदिएका छन् । मुख्यतः देशका कुल बाह्र स्थानमा देखिएका परिणामले राजनीतिमा नयाँ सञ्चारको अवस्था बनाइदिएको छ । यिनीहरुको विजय कुनै अलग होइन तर सामाजिक रुपमा सचेत वर्गको विजय हो, पछिल्लो पुस्ताको एउटा उन्नत चेतनाको उपजको परिणाम हो ।
सही विचार बोकेर हिँडेपछि सुरुमा एक्लै भएपनि त्यो विचार बोक्ने नेतृत्व जनमत मार्फत् अनुमोदन हुन्छ भन्ने कुराको लागि अबका दिनमा एउटा सकारात्मक नजिर पनि हो । यी मध्यमा पनि धरान र काठमाडौं महानगर विशेष चर्चामा छन् । यी उम्मेदवारले त्यत्रो ठूलो नसक्ने कुनै सपना देखाएका छैनन् । यिनका योजनाहरु सुन्न बोझिला छैनन्, सरल छन्, स्पष्ट लाग्छन्, क्लिस्ट भाषामा नबुझिने छैनन्, छर्लङ्ग छन्, निख्खर छन् । झलक्क हेर्दा सरसफाइ, व्यवस्थापन र खानेपानीको मुद्दा मात्रै देखिन्छ । तर राजनीतिसँग यी र यस्ता आम विषयको कस्तो अनन्योयाश्रित सम्बन्ध रहन्छ भन्ने कुरा मजाले बुझाउन सफल भएको मान्नुपर्छ ।
आम नागरिकका आशामाथि सधैं भैरहेका तुषारापात, अपेक्षाहरुको उपेक्षा, विकास प्रतिको उदासीनता, दलहरुले प्रतिबद्धता अनुरुप काम नगरेर गरेको बदमासी, राजनीतिक कचिंगल, दिक्दारी र आक्रोशको अभिव्यक्ति यो पल्ट वैकल्पिक मतमार्फत् अनुमोदन भएको छ । स्थापित चुनाव चिह्न र व्यवस्थित संगठन भएका उम्मेदवार हुँदैमा चुनाव जित्न सजिलो हुन्छ भन्ने मान्यता पनि गलत सावित हुन पुगेको छ । किनकी चुनाव प्रचार अवधिमा मात्रै निर्वाचन आयोगले प्रदान गरेको एउटा लौरो चिह्नले कस्तो राजनीतिक हलचल मच्चाउन सफल रह्यो भन्ने कुरा त परिणामले नै देखाइदिएको अवस्था छ ।
स्वार्थ समूहहरु र अमूक व्यक्तिहरु पार्टीको झण्डामुनि बसेर जसरी हुन्छ, टिकट हत्याउने र चिनिएको चिह्नबाट जस्ता खाले मान्छे पनि शक्तिमा आउने परिपाटी चित्तबुझ्दो किमार्थ होइन । राजनीति यति जटिल हुन पुगेको छ कि अब त अर्मपर्म, खेत खलियान जस्ता सम्बन्धमा स्वार्थको धैंसो लाग्न थालेको छ । बिहेबारी, ब्रतबन्ध जस्ता सांस्कृतिक प्रचलन र मान्छेका व्यैक्तिक सम्बन्धहरुमा समेत राजनीतिक आस्थाहरु जोडिन पुगेको देखिन्छ । हुँदाहुँदै आर्यघाटमा समेत गलत राजनीतिको दुर्गन्ध पुगेको छ ।
त्यसैले यस्तो सामाजिक विचलनको अवस्थामा एउटा सचेत वर्गले यो चुनावमा उम्मेदवारीमार्फत् विद्रोहको झण्डा उचालेको अर्थमा पनि बुझ्न सकिन्छ । यी कुराबाट मूलधार भनिनेहरुले अब राजनीति पूरानै ढर्राले अघि बढ्दैन भन्ने त पक्कै बुझेको र भित्रैबाट महसुस गरेको हुनुपर्छ । यो पल्ट समाजको सांगोपांगो समस्या केलाएको, समाधान दिएको, जनताको सुख दुःखमा सँगै उभिइरहेको उम्मेदवारलाई वडा तहमा पनि मतदाताले रुचाएको देखियो ।
पूरानो राजनीतिक विरासत, कोर एरिया र हेभिवेट उम्मेदवार भनिने विभिन्न खाले भ्रमको पनि मतदानमार्फत् उचित निवारण भएको छ । परम्परागत गढ र किल्लाहरु भत्किएका छन् । खास गरी पछिल्लो नयाँ मतदाताले जे होस्, एउटा नयाँ हुटहुटी र परिवर्तनको तीव्र आकाङ्क्षाको दस्तक पक्कै दिएको छ । राजनीतिमा पुनर्जागरणको उदयको संकेत देखिएको छ । चोक चोकमा नवीनताको चर्चा र सिफारिस चुलिएको देख्न र सुन्न पाइएको छ । यो आफैंमा नै एउटा ऐतिहासिक परिदृश्य हो ।
समय परिवर्तनशील छ । यो प्रविधि र सञ्चारको युग हो । सचेत ढंगले यसको समुचित प्रयोग गर्न नजान्ने र नसक्ने मान्छेहरु कम्तिमा राजनीतिमा आउन अब धेरैपल्ट सोच्नुपर्ने अवस्था आएको छ । प्रविधिसँग एकाकार हुन नसक्नेहरु राजनीतिबाट बिस्तारै अनुपयुक्त बन्दै गएका छन् । चुनाव जित्ने त अझै परको कुरा रह्यो, किनकि यो जनतासँग जोडिएको बिषय भैसक्यो ।
मतदातासम्म पुग्न गरिने ठूल्ठूला आमसभा, माइकिङ र र्याली जस्ता पुराना शैलीमा गरिने प्रचारको उपादेयता पनि घटेको देखिन्छ । समयानुकूल विचार र भिजन भएको उम्मेदवार र उसले अगाडि सारेका र जितेको खण्डमा आफूले पूरा गर्ने आवधिक कार्यक्रमको जानकारीका लागि पनि सामाजिक सञ्जालको व्यवस्थित तथा अधिकतम उपयोगमा ढंग पुर्याउनेहरु सफल देखिएका छन् । टेलिकम्युनिकेस मोबाइल र टेलिफोनको प्रयोग, सर्ट मेसेज, ग्राफिक्स, मिडिया र मल्टिमिडियाको माध्यमद्वारा पनि मतदाता र उम्मेदवारको अन्तक्रियामार्फत् विश्वास आर्जन गर्न र क्याम्पेनिङ गर्न जो अगाडि रह्यो, यो पल्ट सफल रहन पनि त्यही उम्मेदवार अघि रहेको तथ्य कतैबाट छिपेको छैन । आगामी दिनमा पनि निर्वाचनमा आफ्ना प्रतिबद्धता र योजनाहरु अघि सार्ने, बुझ्ने, बुझाउने कामलाई सञ्चारको प्रयोग अति नै महत्त्वपूर्ण रहनेछ ।
मतदान लोकतन्त्र र व्यवस्थाको प्राणवायु समान हो । यसबाट स्थापित हुने नेतृत्वले आम नागरिकको जीवनमा फरक पार्ने र सामाजिक विकासमा धेरै प्रभावहरु रहन्छन् । तसर्थ यी सबै कुराबाट गहिरो पाठ सिकेर क्रियाशील राजनीतिक दललाई आफ्ना कार्यक्रम र योजनामा अब पुनर्विचार र नवीनता दिनुपर्ने बाध्यताको आवाज तिनका समीक्षा बैठकहरुमा पक्कै उठिसकेको हुनुपर्छ । स्वयं जनता नै इतिहासका निर्माता हुन् भन्ने तथ्यलाई राजनीतिक दलले मनन गर्नु आवश्यक छ ।
अबका संघ र प्रदेश तहका निर्वाचनमार्फत् यो अभियान झन विस्तारित र सुदृढ हुँदै जानेछ । नसोचेको उम्मेदवारहरुले जनतामा प्रस्तुत हुनेछन्, अप्रत्याशित परिणाम निकाल्न सक्नेछन् । जुन कुरा हालैको यो स्थानीय निर्वाचनको जनमतले संकेत गरिसकेको छ, मतपेटिकामा सुटुक्क अभिव्यक्त भएको छ ।
राजनीतिक दलहरू आफ्ना एजेन्डामा कमजोर हुनु र जनतालाई सही कुरा बुझाउन नसक्नु, जनताले दलीय व्यवस्थामा निर्दलीय विकल्प सोच्न थाल्नु भनेको लोकतन्त्रमा पक्कै राम्रो संकेत होइन । तसर्थ यो नतिजाले जबर्जस्ती भए पनि यो मुद्दामा दलहरू आउन ढिलो चाँडो बाध्य नै हुनुपर्छ । यसका लागि नेतृत्वपंक्ति सचेततापूर्वक लाग्न जरुरी छ । यदि अब पनि पुरानै कार्यशैली र अवस्था कायम रह्यो भने मतदाता र आम जनताले विकल्पमा सोच्न थालिसकेको सन्देश आफ्नो मतमार्फत् दिइसकेका छन् ।
केसी  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारीमा थिए
साभारःरातोपाटी

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *