नेपाली राष्ट्रिय फुटबल टोली यतिबेला एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघिको नतिजा हेर्दा जोर्डनविरुद्ध नेपालको प्रदर्शन सम्झन लायक छैन् । सन् २०११ मा जोर्डनविरुद्धको ९–० गोलको हार नेपाली फुटबलका लागि कमजोर सावित गर्ने क्षण थियो ।
त्यसपछि नेपालको तीन नतिजामा एक खेलमा बराबरी खेलेपनि दुई खेलको नतिजा भने कमजोर छ । तर, आजको खेलमा नेपाल पुरानो नतिजालाई तोड्दै इतिहास रच्न चाहन्छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा उत्रँदा नेपाल इतिहास कोर्ने दाउमा हुनेछ । तर, बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन् ।
जोर्डनविरुद्ध खेल पस्केका अनुभवी र सिनियर खेलाडीको कमी छ । खेलमा सिनियर खेलाडीको अभाव पक्कै खड्किने छ । तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको फेरिएको बचनले नयाँ खेलाडीहरुमा केही हौसला पक्कै मिल्नेछ ।
यसअघि एसियन कपको तयारीमा रहेको समयमा अल्मुताइरीले नेपाली टोली छनोट नहुने बताइ सकेका छन् । छनोटको खेलअघि भने उनले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । साथै टिमलाई कुनै पनि दबाब नभएको पनि बताए ।
‘हामीलाई धेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने ।
अल्मुताइरीको यो भनाइले हेर्दा टिममा कुनै किसिमको दबाब छैन भन्ने देखिन्छ । तर, भित्रि रुपमा भने अल्मुताइरीलाई सिनियर र अनुभवी १० खेलाडीलाई टिममा नराखेको दबाब छ । त्यसको असर आजको खेलमा देखिनेछ ।
नेपाली समय अनुसार राति १ बजे सुरु खेलमा नेपाललाई सुखद नतिजाको अपेक्षा हुनेछ ।
नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । त्यसमा नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ । सन् २०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
त्यसपछिका दुई खेलमा नेपाल जोर्डनसँग पराजित छ । जोर्डनसँग २०१९ को अक्टोबरमा विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा ३–० को नतिजा सुम्पेको थियो ।
पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो ।
गत वर्षको जेठमा कुवेतमै भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । इतिहासलाई परिवर्तन गर्ने मुख्य प्रशिक्षक अल्मुताइरीलाई मौका छ । यता नयाँ कप्तान नवयुग श्रेष्ठलाई पनि टिमको जिम्मेवारीमा नयाँ मोड लिने मौका छ ।
साभारःरातोपाटी
प्रतिक्रिया दिनुहोस्