बजेट कार्यान्वयनदेखि वन तथा प्राकृतिक स्रोत संरक्षणसम्म सहकार्य र सहभागितामा जोड
जोमसोम, मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको आयोजनामा संरक्षण क्षेत्रभित्र सञ्चालित कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र उपलब्धिमूलक बनाउन थासाङ गाउँपालिकामा समन्वय तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
२०८३ साल कार्तिक १९ गते बिहीबार थासाङ गाउँपालिकाको सभा हलमा आयोजित ‘संरक्षण क्षेत्र व्यवस्थापन समिति, वन व्यवस्थापन उपसमिति, गाउँपालिका तथा सरोकारवाला निकायहरूसँगको समन्वय गोष्ठी’ मा संरक्षण, विकास र स्थानीय सहभागिताका विषयमा विस्तृत छलफल गरिएको हो।

गोष्ठीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिबारे जानकारी गराइएको थियो। साथै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमका प्राथमिकता र कार्यान्वयनका विषयमा समेत सरोकारवालालाई अवगत गराइएको थियो।

कार्यक्रममा थासाङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, गाउँपालिका क्षेत्रभित्र क्रियाशील संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, वन व्यवस्थापन उपसमिति तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संरक्षण क्षेत्रभित्र सञ्चालन हुने कार्यक्रम स्थानीय आवश्यकता, प्राथमिकता र वस्तुस्थितिअनुसार कार्यान्वयन गर्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए।
संरक्षण क्षेत्रको दिगोपन, वन तथा प्राकृतिक स्रोतको संरक्षण, स्थानीय समुदायको सहभागिता र विकास निर्माणका कार्यक्रमबीच प्रभावकारी तालमेल आवश्यक रहेको छलफलमा औँल्याइएको थियो। आयोजना र स्थानीय तहबीच समन्वय कमजोर हुँदा कार्यक्रम कार्यान्वयनमा समस्या आउन सक्ने भएकाले योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म सरोकारवालाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो।
गोष्ठीमा स्वीकृत बजेट तथा कार्यक्रमलाई कागजमा मात्र सीमित नराखी निर्धारित समयभित्र गुणस्तरीय रूपमा कार्यान्वयन गर्न समन्वय, सहकार्य र संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। स्थानीय तह, संरक्षण क्षेत्र व्यवस्थापन समिति र वन व्यवस्थापन उपसमितिबीच नियमित संवाद तथा सहकार्यले संरक्षणका कार्यक्रमलाई परिणाममुखी बनाउन सक्ने अपेक्षा गरिएको छ।प्रकृति संरक्षणसँगै स्थानीय समुदायको आवश्यकता र विकासका सवाललाई समेत सम्बोधन गर्ने उद्देश्यले आयोजित गोष्ठीले आगामी कार्यक्रम कार्यान्वयनमा साझा समझदारी र सहकार्यको आधार तयार गरेको छ। संरक्षण क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजना, स्थानीय सरकार र समुदायबीचको समन्वयलाई थप सुदृढ गर्नुपर्ने सन्देशसहित गोष्ठी सम्पन्न भएको छ।



प्रतिक्रिया दिनुहोस्