जोमसोम, मुस्ताङ । लामो समयको विद्युत् अवरोधपछि मुस्ताङलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (नेसनल ग्रिड) मा पुनः जोड्न सफल भएको छ। प्राविधिक टोलीको अथक मेहनतपछि आज राति २ बजेर ३० बजे मुस्ताङको विद्युत् सेवा राष्ट्रिय ग्रिडसँग जोडिएको हो।
भारी वर्षा, बाढीपहिरो र विद्युत् प्रसारण लाइनमा भएको क्षतिले प्रभावित बनेको विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक कर्मचारीहरूले दिनरात नभनी काम गरेका थिए। प्रतिकूल मौसम र कठिन परिस्थितिका बीच निरन्तर खटिएको टोलीको प्रयासपछि राष्ट्रिय ग्रिडसँगको सम्पर्क पुनः स्थापित भएको हो।
विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित बनेको जनजीवन, सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसाय र दैनिक कामकाजलाई सहज बनाउन यो उपलब्धि महत्त्वपूर्ण बनेको छ। दुर्गम हिमाली जिल्लामा विद्युत् आपूर्ति पुनःस्थापित गर्न खटिने प्राविधिक जनशक्तिको मेहनत, समर्पण र जिम्मेवारीले सेवा निरन्तरताको महत्त्वलाई पुनः उजागर गरेको छ।
यस कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, प्राविधिक कर्मचारी र सम्बन्धित निकायप्रति धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। मध्यरातसम्मको अथक प्रयासले राष्ट्रिय ग्रिडसँग जोडिएको मुस्ताङका लागि यो राहतको खबर बनेको छ।
विद्युत् सेवा पुनःजोडिनु तत्कालका लागि राहत हो; अब यस्ता विपद्का बेला लामो समयसम्म विद्युत् अवरुद्ध हुन नदिन प्रसारण प्रणालीलाई थप भरपर्दो र विपद् प्रतिरोधी बनाउनु आवश्यक छ।



प्रतिक्रिया दिनुहोस्