
प्यालेस्टिनी कवि मोहमद दर्विसको कविताको एउटा प्रख्यात पंक्ति छ, “म ताराहरूतिर हेर्छु, आकाशका घाउहरूबाहेक केही देख्दिनँ” (“I look at the stars and see nothing but wounds of the sky”).
यो भाव सर्जक, अभिनेता तथा निर्देशक प्रकाश सपुतका सिर्जनाहरूमा पनि झल्किन्छ। प्रकाश सपुतले समाजलाई हेर्दा समाजका घाउहरू देख्छन् र ती घाउलाई राहत दिन सामाजिक यथार्थपरक सिर्जनाहरूको निर्माण गर्छन्। यस्तै सामाजिक यथार्थपरक सिर्जनामध्ये एक चलचित्र ‘बसन्त’ अहिले सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ।
मानिसले आफ्नो सिर्जनामार्फत सधैं आफ्ना विचार र समाजको यथार्थलाई दर्शाउँदै आएका छन्। हालको समयमा सिनेमाले ठूलो पर्दामार्फत सर्जकका विचारलाई समाजसम्म पुर्याउने लोकप्रिय माध्यम बनेको छ।
विश्वभर अल्पसङ्ख्यक समुदायका नस्लीय, वर्गीय, लैङ्गिक विभेदका कथालाई ठूलो जनसमुदायसम्म पुर्याउन सिनेमा प्रयोग गरिन्छ। राम्रा सर्जकको कलाकारिताले यस्ता कथाहरूलाई सफलतापूर्वक प्रस्तुत गरेका उदाहरणहरू पनि प्रशस्त छन्। ‘झोला’, ‘नुमाफुङ’, ‘टुबेल इयर’ र ‘12 Years a Slave’ लाई यस्ता उदाहरणका रूपमा लिन सकिन्छ।
भारतीय चलचित्र उद्योग, विशेषगरी तमिल र मराठी सिनेमामा यस्ता विषयमा समय-समयमा चलचित्र बन्छन्। वेट्रीमारन, पा. रञ्जित, मारि सेल्वराज, नागराज मञ्जुले जस्ता प्रख्यात चलचित्रकर्मीहरूले जात व्यवस्थाविरोधी चलचित्रहरू निर्माण गर्छन्, जुन प्राविधिक रूपमा बलियो हुन्छन् र दर्शकहरूबाट पनि रुचाइन्छन्।
बसन्त चलचित्र: विश्लेषण
जनआन्दोलनको समयरेखामा बागलुङमा आधारित चलचित्र ‘बसन्त’ बसन्त बि.क. नामक पात्र र उनको वरिपरिका पात्रहरूले जात व्यवस्थाका कारण भोग्नुपरेका कठिनाइमाथि केन्द्रित छ। ‘बसन्त’ सामाजिक यथार्थपरक चलचित्र हो, जसले आफ्नो कथावस्तु, दृश्य र संवादमार्फत जात व्यवस्था र अन्य सामाजिक कुरीतिविरुद्ध आवाज उठाउँछ। यो एक प्रगतिशील सिनेमाको उदाहरण हो। बसन्त चलचित्रको सामाजिक सन्देश, कलात्मक प्रस्तुति र कमजोरीहरूको विश्लेषण गर्नुपर्छ।
बसन्त चलचित्रका सबल पक्षहरूः
प्रकाश सपुतको चलचित्र निर्माण
‘बसन्त’ चलचित्रको पहिलो विशेषता हो, प्रकाश सपुतले यो चलचित्रको लेखन र निर्देशन गर्नुअघि गीत मार्फत जात व्यवस्थाको चर्को बिरोध गर्थे गितहरू सामाजिक यथार्थमा आधारित हुन्थे जसलाई दर्शकहरूले अत्यधिक रुचाए पनि त्यसैले यस्ता सशक्त विचार र साहस बोकेका सपुतले आफ्ना अनुभवलाई समेटेर जात व्यवस्थाविरोधी चलचित्र निर्माण गरी सिनेमाघरमा ल्याउनु आफैँमा विशेष छ।
जात व्यवस्थाको प्रभाव र असर
चलचित्रमा जातव्यवस्था प्रभाव शिक्षा क्षेत्र, प्रहरी प्रशासनदेखि राजनीतिक पार्टीका विचारसम्ममा रहेको देखिन्छ।बसन्त चलचित्रको सुरुवातमा जात व्यवस्थाको ठुलो असर रहेको हुन्छ जसको बिरोध जान आट सम्म गर्न सकिन्छ जुन उसको मानसपटलमा रहेको जातव्यवस्थाको प्रभाव हो। जात व्यवस्थाका कारण समाजमा एक समुदायप्रति अर्को समुदायमा त्रास र घृणा छ। यसको चपेटामा दलित र गैर-दलित समुदाय दुवैले आफन्त गुमाउनुपरेको छ, जसलाई भावनात्मक रूपमा प्रस्तुत गर्न सपुत सफल भएका छन्।
दलित नायकको सशक्त छवि
मानिसहरू सधैं कसैलाई आदर्श मान्छन्, जससँग उनीहरूको सम्बन्ध जोडिन्छ वा जस्तो उनीहरू वास्तविक जीवन वा चलचित्रमा बन्न चाहन्छन्। यो प्रवृत्ति प्रेरणा, मार्गदर्शन र सम्बन्धको मानवीय चाहनाबाट उत्पन्न हुन्छ। यसले चलचित्रलाई लोकप्रिय बनाउन पनि मद्दत गर्छ। ‘पुष्पा’ र ‘KGF’ जस्ता चलचित्रको सफलतामा पनि यही पक्षको भूमिका छ, किनकि ती कथाहरू भुइँमान्छेका चाहनासँग जोडिन्छन्।
नेपालमा दलित समुदायलाई चलचित्रमा प्रायः पीडितका रूपमा देखाइन्छ। तर ‘बसन्त’ मा यो प्रवृत्तिलाई तोड्दै बसन्तलाई महत्वाकाङ्क्षी र सङ्घर्षशील नायकका रूपमा प्रस्तुत गरिएको छ। उनको शिक्षाप्रतिको लगाव साहित्यप्रतिको मोह र सामाजिक परिवर्तनको चाहनाले दलित युवाहरूलाई प्रेरणा दिन्छ। दलित समुदायको पृष्ठभूमि, सङ्घर्ष, अनुभव र उद्देश्यसँग मेल खाने यो पात्रले दलित युवाहरूमा गर्व र सक्रियता जगाउन सक्छ। दलित पहिचानलाई सकारात्मक रूपमा प्रस्तुत गरिएको छ।
जात व्यवस्था साझा सङ्घर्ष
जात व्यवस्थामा कुनै निश्चित जात वा समुदाय मात्र पीडित छैन, र यसविरुद्धको सङ्घर्ष पनि एउटा जातले मात्र गरिरहेको छैन। चलचित्रले जात व्यवस्थालाई साझा सङ्घर्षका रूपमा देखाउँछ। चलचित्रमा बाहुन केटीले दलित केटालाइ मन पराउन्छे र क्षेत्री केटाले दलित केटीलाई र सबैले जात व्यवस्थाका कारण आफ्नो माया पाउन साझा संघर्ष गरिरहेका हुन्छन् जसले गर्दा आफन्त गुमाउँछन् जात व्यवस्थाविरुद्ध लड्छन्। यो सन्देश प्रभावकारी छ।
जात व्यवस्थाविरोधी आन्दोलन
चलचित्रमा दलित समुदायभित्रको विभेद हटाउन केही पात्रको सङ्घर्ष, माओवादी आन्दोलनको योगदान, राजनीतिक पार्टीहरूको दोहोरो चरित्र, दलित अधिकारकर्मी र संस्थाहरूको कामलाई दृश्य र संवादमार्फत छोटो समयमा प्रस्तुत गरिएको छ। दलितहरू आफ्नो अधिकारका लागि अरूमा निर्भर रहँदा जात व्यवस्थामा परिवर्तन नहुने कुरालाई पनि चलचित्रले सङ्केत गर्छ।
नाजिर हुसेनको पात्र दलित नेताको हुन्छ चलचित्रमा जब बसन्त पात्र जेल पर्छ तब नाजिर हुसेनको पात्रको आगमन हुन्छ तर पार्टीले भोटर कम हुने आशंकाले असहयोग गर्दा उसको दलित समुदायप्रतिको इमान्दारिता डगमगाउन जान्छ जुन अहिलेका दलित नेताहरुको यथार्थ पनि हो।
पात्रको नामको प्रयोग
प्रकाश सपुतले पात्रका नाम र थरको प्रयोग कुशलतापूर्वक गरेका छन्। चलचित्रमा पात्रका नाम र थरहरूले सामुदायिक प्रतिनिधित्व गर्छन्। बसन्त बि.क., शान्ति शर्मा, प्रेम आर. क्षेत्री, सपना बि.क., सत्य मगर, सुबेदार क्षेत्री जस्ता नामहरूले सामाजिक अवस्थालाई प्रस्ट पार्छन्। कलाकारहरूको न्यायपूर्ण अभिनयले यी पात्रहरूलाई जीवन्त बनाएको छ।
तत्कालीन परिवेश
तत्कालीन ग्रामीण पहाडी परिवेशलाई चलचित्रमा जीवन्त रूपमा देखाइएको छ। मोटर, बाटो, गाउँघर, पेशा, टेलिभिजन, साहित्य, पहिरन, चलचित्रप्रतिको मोह, चिठी, पोस्टर र भौगोलिक दृश्यहरूले दर्शकको ध्यान सजिलै खिच्छन्। साथै, तत्कालीन सामाजिक, आर्थिक अवस्था र युवाहरूको रुचिलाई पनि चलचित्रले राम्रोसँग चित्रण गर्छ।
कमजोरीहरू
चलचित्रले प्रगतिशील सिनेमाको रूपमा गम्भीर विषय उठाए पनि, फिल्म निर्माणको क्रममा केही कमीकमजोरीहरू छन्, जसलाई हेर्दा बेवास्ता गर्न सकिँदैन। यी कमजोरीहरूले चलचित्रको अनुभवलाई कतिपय ठाउँमा खल्लो बनाउँछन्।
कलाकारहरूको छनोट
चलचित्रमा सबै कलाकारको अभिनय राम्रो छ, तर ९-१० कक्षामा पढ्ने पात्रका रूपमा प्रकाश सपुत र स्वस्तिमा खड्कालाई विश्वास गर्न गाह्रो हुन्छ। कास्टिङमा थप ध्यान दिएको भए अनुभव अझ राम्रो हुन सक्थ्यो।
लामा र भाषणजस्ता संवाद
चलचित्रका संवादहरू राम्रा छन् र दर्शकमा ऊर्जा भर्ने काम गर्छन्। तर, कतिपय संवादहरू लामा र भाषणजस्ता लाग्छन्, जसले अनुभवलाई खल्लो बनाउँछ।
गीतहरूको प्रयोग
प्रकाश सपुत अभिनेता र निर्देशकभन्दा पहिले गीत सर्जक र गायक हुन्, जुन यो चलचित्रमा हावी भएको छ। गीतहरू साना-साना र टिकटक शैलीका छन्, जुन कतिपय ठाउँमा अनावश्यक लाग्छन्।
व्यावसायिक विज्ञापनको हस्तक्षेप
चलचित्रमा सबैभन्दा खराब पक्ष विज्ञापनहरू छन्, जुन चलचित्रको समयरेखासँग मेल खाँदैनन् र भद्दा देखिन्छन्। यो समस्या प्रकाश सपुतका अन्य गीतहरूमा पनि देखिन्छ।
अस्वाभाविक समापन
चलचित्रभरि मुख्य पात्रलाई विभिन्न दुख र कठिनाइबाट गुज्रिएको देखाइन्छ, तर अन्तिम क्षणतिर सबै कुरा सहज हुन जान्छ, जुन यथार्थपरक सिनेमाका लागि कमजोरी हो।
सामाजिक विवाद र कलात्मक स्वतन्त्रता
चलचित्र समग्रमा राम्रो बनेको छ। कलाकारहरूको अभिनय र लवज उत्कृष्ट छ, गाउँघरका दृश्यहरू आँखालाई आनन्द दिने छन्, र बीच-बीचमा आउने कलाकारका क्यामियोहरूले रमाइलो प्रदान गर्छन्। यस्तो संवेदनशील विषयमा यति प्रगतिशील चलचित्र नेपालमा कमै बन्छन्।
‘बसन्त’ दलित साहित्य हो। आहुतिका अनुसार, जात व्यवस्थाविरुद्धको साहित्य दलित साहित्य हो। नेपालमा जात व्यवस्थाले हजारौँ वर्षदेखि जरा गाडेको छ, तर यसविरुद्ध साहित्य लेखन कमै हुन्छ। सिनेमामार्फत ठूलो पर्दामा यस्ता कथाहरू देखाउनु त झन् हातका औँलामा गन्न सकिने सङ्ख्यामा छन्।
सामाजिक सञ्जालमा प्रकाश सपुतका केही राजनीतिक टिप्पणीहरू (जस्तै, के.पी. ओलीको प्रशंसा) को आधारमा चलचित्रलाई लिएर नकारात्मक माहोल बनिरहेको छ। चलचित्रको बहिष्कारको माग गर्दै सपुतलाई गाली गर्ने समूह पनि देखिएको छ। सपुतको व्यक्तिगत विचारलाई चलचित्रको सन्देशसँग जोडेर हेर्नु उनले उठाएका प्रश्नहरूमाथिको अन्याय हो। ‘बसन्त’ जात व्यवस्थाविरुद्धको सशक्त आवाज हो, र यसलाई कलात्मक योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्छ।
प्रकाश सपुतले सधैं सामाजिक समस्यालाई आफ्ना सिर्जनामार्फत उजागर गर्दै आएका छन्। यस्ता सिर्जनालाई बौद्धिक खण्डनबिना बहिष्कार गर्नु लोकतान्त्रिक मर्ममाथिको आघात हो। लोकतन्त्रमा सबैलाई आफ्नो क्षेत्रबाट खबरदारी गर्ने अधिकार हुन्छ। प्रकाश सपुतले ‘बसन्त’ चलचित्रमार्फत त्यही अधिकारको सुन्दर प्रयोग गरेका छन्।
अन्ततः, जात व्यवस्था समाजको दुरगामी तत्व हो, जुन अझै समाप्त भएको छैन। यसविरुद्ध लामो सङ्घर्ष बाँकी छ। प्रकाश सपुतजस्ता सर्जकले सिनेमालाई माध्यम बनाएर आफ्नो कलामार्फत विरोध गर्नु प्रगतिशील समाजको प्रतीक हो। यो उनको कला र समाजप्रतिको निष्ठाको सम्मान गर्नुपर्छ। ‘बसन्त’ निर्माणको हिसाबले शतप्रतिशत उत्कृष्ट छैन, र यसका केही कमीकमजोरी छन्, जसलाई आगामी सिर्जनाहरूमा सुधार गर्न सकिन्छ। तैपनि,प्रकाश सपूत जस्ता सर्जक जात व्यवस्था बिरुद्द लागि पर्नु ‘बसन्त’ चलचित्रको सुरुवातमा भनिएको जस्तै चलचित्र “Prakash Saput Madness” हो।
प्रतिक्रिया दिनुहोस्