२०८३ बैशाख ९
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङकाे घरपझाेङमा जलवायु सम्मेलन पुनः आयोजना हुने तयारी

 मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिकाले गत भदौ ३१ गतेका लागि तय गरिएको ‘जलवायु सम्मेलन’लाई सम्पन्न गर्न पुनः पहल थालेको छ।

गाउँपालिकाले जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे ७५३ वटै स्थानीय तहको साझा धारणा बनाउन बृहत् सम्मेलन आयोजना गर्ने तयारी अघि बढाएको हो।

गत भदौ २३–२४ मा युवाहरुको ‘जेनजी आन्दोलन’का कारण स्थगित भएको सम्मेलनलाई मूर्त रूप दिन गाउँपालिकाले फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय थालेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।

यसअघि गाउँपालिकाले ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुलाई आमन्त्रण गर्दै मुस्ताङमा सम्मेलन आयोजना गर्न पत्राचार गरेको थियो। अतिथिहरुका लागि होटल बुकिङ समेत गरिएको थियो। सम्मेलनको उद्देश्य हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे साझा ऐक्यबद्धता कायम गर्नु रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको प्रारम्भिक पुनर्प्राप्ति क्लस्टर (सीबीडीआरएम) को संयुक्त बैठकमा अध्यक्ष लालचनले सम्मेलनबारे सरोकारवाला निकायलाई जानकारी गराएका थिए। बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि, विकास साझेदार, रेडक्रस, राष्ट्रिय गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसंघका निकायहरुको सहभागिता थियो।

अध्यक्ष लालचनका अनुसार सम्मेलनले जलवायु परिवर्तनका प्रत्यक्ष असरलाई नजिकबाट बुझ्न, विभिन्न क्षेत्रका अनुभव आदान–प्रदान गर्न तथा मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत तय गरिएको सम्मेलनको नयाँ मिति मन्त्रालयको समन्वयमा तय गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्