२०८३ आश्विन २७
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ संरक्षणदेखि पर्यटन प्रवर्द्धनसम्म, एक्यापले बढायो मिडिया सहकार्य

२०८३ भाद्र ३१ मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) र मुस्ताङका क्रियाशील सञ्चारकर्मी बीच प्राकृतिक संरक्षण, पर्यटन प्रवर्द्धन, स्थानीय विकास तथा संरक्षण क्षेत्रका गतिविधिलाई थप पारदर्शी र उत्तरदायी बनाउने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का आयोजना प्रमुख डा. रबिन कडरियाको उपस्थितिमा भएको अन्तरक्रियामा मुस्ताङमा संरक्षणका क्षेत्रमा देखिएका चुनौती, पर्यटन विकासका सम्भावना, स्थानीय समुदायको सहभागिता तथा संरक्षण क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा पत्रकारहरूसँग छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।अन्तरक्रियाका क्रममा मुस्ताङको संवेदनशील हिमाली भूगोल, जैविक विविधता, प्राकृतिक स्रोत तथा पर्यावरणीय सन्तुलनको संरक्षणसँगै पर्यटन क्षेत्रलाई व्यवस्थित र दिगो बनाउने विषयमा जोड दिइएको थियो। संरक्षण र विकासबीच सन्तुलन कायम गर्न स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण आयोजना, पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

हिमाली पर्यावरण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने चुनौती मुस्ताङका लागि महत्वपूर्ण विषय बन्दै गएको छ। यस्तो अवस्थामा एसीएपी र पत्रकार महासंघ मुस्ताङबीचको सहकार्यले संरक्षणका सवाललाई समुदायको आवाजसँग जोड्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्ने प्रयासलाई थप बल पुग्ने देखिएको छ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका संस्थापक अध्यक्ष तथा हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका सम्पादक प्रकाशक भिम बहादुर रसाइली , मुस्ताङ साप्ताहिककी सम्पादक तथा महासंघकी अध्यक्ष सुनदेवी रसाइली , सचिव आदित्य रसाइली कोषाध्यक्ष निरज थकाली महासंघ गण्डकी प्रदेशका सदस्य सुन्दर कुमार थकाली , शाखाका निवर्तमान सचिव सुशील थकाली लगायत अन्य पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण एसिएपी जोमसोम मुस्ताङका कार्यालय प्रमुख राजेश प्रशाद गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्