२०८३ भाद्र ३१ मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) र मुस्ताङका क्रियाशील सञ्चारकर्मी बीच प्राकृतिक संरक्षण, पर्यटन प्रवर्द्धन, स्थानीय विकास तथा संरक्षण क्षेत्रका गतिविधिलाई थप पारदर्शी र उत्तरदायी बनाउने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का आयोजना प्रमुख डा. रबिन कडरियाको उपस्थितिमा भएको अन्तरक्रियामा मुस्ताङमा संरक्षणका क्षेत्रमा देखिएका चुनौती, पर्यटन विकासका सम्भावना, स्थानीय समुदायको सहभागिता तथा संरक्षण क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा पत्रकारहरूसँग छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।
अन्तरक्रियाका क्रममा मुस्ताङको संवेदनशील हिमाली भूगोल, जैविक विविधता, प्राकृतिक स्रोत तथा पर्यावरणीय सन्तुलनको संरक्षणसँगै पर्यटन क्षेत्रलाई व्यवस्थित र दिगो बनाउने विषयमा जोड दिइएको थियो। संरक्षण र विकासबीच सन्तुलन कायम गर्न स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण आयोजना, पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा संरक्षण क्षेत्रका गतिविधि, आयोजना सञ्चालनका प्रक्रिया, स्थानीय समुदायसँगको सम्बन्ध, पर्यटनबाट सिर्जित अवसर तथा संरक्षणका क्रममा देखिएका व्यावहारिक समस्या र चुनौतीबारे पत्रकारहरूले प्रश्न तथा जिज्ञासा राखेका थिए। आयोजना प्रमुख डा. कडरियाले पत्रकारहरूले उठाएका विषयमा जवाफ दिँदै संरक्षणका गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
मुस्ताङ जस्तो प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लामा संरक्षणका गतिविधि तथा विकास निर्माणका विषयलाई तथ्यपरक रूपमा जनतासमक्ष पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो। संरक्षण क्षेत्रभित्रका नीति, कार्यक्रम र गतिविधिबारे स्थानीय समुदाय तथा सरोकारवालालाई पर्याप्त सूचना उपलब्ध गराउँदा संरक्षणप्रतिको अपनत्व र सहभागिता अझ बढ्न सक्नेमा पनि जोड दिइएको थियो।
अन्तरक्रियाको खुला प्रश्नोत्तर सत्रमा पत्रकारहरूले एसीएपीका कामकारबाही, संरक्षणसम्बन्धी नीति तथा स्थानीय तह र समुदायसँगको समन्वयका विषयमा प्रश्न गरेका थिए। उनीहरूले स्थानीय सरोकारका विषयमा नियमित सूचना प्रवाह, आयोजना र सञ्चारमाध्यम बीच प्रत्यक्ष संवाद तथा संरक्षणसम्बन्धी गतिविधिमा स्थानीय पत्रकारको पहुँचलाई थप सहज बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमले संरक्षण आयोजना र स्थानीय सञ्चारमाध्यम बीचको संवादलाई संस्थागत गर्दै मुस्ताङका संरक्षण, पर्यटन र विकाससम्बन्धी विषयमा तथ्यमा आधारित सार्वजनिक बहसको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सञ्चारमाध्यममार्फत संरक्षणका उपलब्धि, चुनौती र स्थानीय समुदायका वास्तविक सवाललाई सार्वजनिक बहसमा ल्याउँदा संरक्षण अभियान थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।
हिमाली पर्यावरण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने चुनौती मुस्ताङका लागि महत्वपूर्ण विषय बन्दै गएको छ। यस्तो अवस्थामा एसीएपी र पत्रकार महासंघ मुस्ताङबीचको सहकार्यले संरक्षणका सवाललाई समुदायको आवाजसँग जोड्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्ने प्रयासलाई थप बल पुग्ने देखिएको छ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका संस्थापक अध्यक्ष तथा हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका सम्पादक प्रकाशक भिम बहादुर रसाइली , मुस्ताङ साप्ताहिककी सम्पादक तथा महासंघकी अध्यक्ष सुनदेवी रसाइली , सचिव आदित्य रसाइली कोषाध्यक्ष निरज थकाली महासंघ गण्डकी प्रदेशका सदस्य सुन्दर कुमार थकाली , शाखाका निवर्तमान सचिव सुशील थकाली लगायत अन्य पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण एसिएपी जोमसोम मुस्ताङका कार्यालय प्रमुख राजेश प्रशाद गुप्ताले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्