२०८१ माघ २५
९८५७६५०३३४, ९८५७६५००९३

अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र हल्कारा

प्रबिन पाण्डे

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट चलचित्र ‘हल्कारा’ ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ ।

नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ लाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो । नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए।

‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेका हौं,’ उनले भने। आइसफल फिल्म्सले निर्माण गरेको उक्त फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका रहेको छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् ।

मापदण्डअनुसार विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरूले उक्त विधाका लागि आवेदन दिएका थिए । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा चलचित्रहरू ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्