२०८२ असार १६
९८५७६५०३३४, ९८५७६५००९३

भारतलाई बिजुली बेचेर एक महिनामा एकअर्ब ७२ करोड आम्दानी

नेपाल विद्युत प्राधिकरणले एक महिना (२ जुन–३० जुन) को अवधिमा भारतलाई एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बिक्री गरेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर उक्त रकम बराबरको बिजुली बिक्री गरेको हो ।

आईईएक्सलाई सुरुमा दुई विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा प्राधिकरणले बिक्री गरेको थियो । त्यसपछि गत जेठ २७ देखि दैनिक रुपमा तीनसय ६४ मेगावाट विद्युत भारतीय बजारमा प्राधिकरणले बिक्री गरेको थियो ।

प्राधिकरणले एक महिनाको अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) पाउन सफल भएको छ । उक्त दिन प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा रहेको छ भने सबैभन्दा कम औसत दर २१ जुन (७ असार) रहेको छ । उक्त दिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताएका छन् ।

कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्