पैतालामा धुलो, आँखामा तुवाँलो

  • विजय हितान

कोरोना महामारीका कारण दुई वर्षसम्मको बन्दाबन्दीले निसासिएको मान्छे म । साँच्चै पिंजडामा थुनिएको एउटा चराजस्तै भइसकेको थिएँ । मातृभूमिको यादले कम सताएको थिएन मलाई । त्यही न्यास्रो मेट्न त लकडाउन खुल्नासाथ कर्मभूमि छोडेर हिजै मात्र मातृभूमि आइपुगेको थिएँ म ।

लण्डनको हिथ्रो विमानस्थलको अध्यागमनबाट छिर्नुअघि ‘आऊ एउटा ईकोडेटिङमा, तिमीलाई काठमाडौंमा भेट्नुपर्ने छ’ कविता फेसबुकमा अपलोड गर्छु । सुरक्षा जाँच गराएर ड्युटी फ्रीमा एक बोतल ब्लेक लेबल किन्छु । जहाजभित्र बोर्डिङ गर्दैगर्दा मैले राखेको स्टाटसमा ‘शुभयात्रा !’ जस्ता शुभेच्छाका शब्दहार बर्सिन्छन् । ‘वा, क्या दामी इको कविता !’ जस्ता कमेन्टहरूको ओइरो लाग्न थाल्छन् ।

यी आँखाले लण्डनका सडकमा धुलो, धुवाँ र फोहोरको डुङ्गुर र आकाशमा तुवाँलो देख्नु पर्दैन । जहाजले हेथ्रो विमानस्थल छाड्नेबित्तिकै काठमाडौंमा पनि स्वच्छ हावामा श्वासप्रश्वास गर्न पाऊँ भनी कामना गरेथें मैले ।

घमाइलो र न्यानो हुन्छ काठमाडौंको मौसम । यद्यपि कल्पना गरेजस्तो वातावरण काठमाडौंमा कहाँ भेट्नु र ! ट्याक्सी  लिएर घरतिर हुइँकिदा सडकको धुवाँ र धुलोमा रुमलिएको पाउँछु आफैंलाई । फेरि बाक्लो तुवाँलोले लपेटिएको छ–क्षितिज । कोभिडविरुद्धको तीन-तीनवटा सुई यो कुममा छिरिसकेको भए पनि मेरो मुखलाई मास्कले ड्याम्मै टालेको छु । मास्कले कोरोना, धुवाँ र धुलोबाट जोगाउँछ भन्ने ठानेको छु मैले ।

बार्दलीमा बसेर ड्युटी फ्रीमा किनेको ब्ल्याक लेभलको बिर्को खोल्छु । तल देखिने नक्खु खोलाको भ्याली र पारि देखिने भैंसेपाटीसँग चियर्स गर्छु । आमाको हातले बनाएको ट्वाक्क परेको आलुको अचारसँग ह्वीस्कीको चुस्की लगाउन थाल्छु ।

त्यहीबेला फेसबुक खोल्छु । फेसबुकको वालमा मोबाइल नम्बरसहित पोस्ट्याउँछु– ‘लु म काठमाडौं सकुशल उत्रें । तपाईंहरूको शुभेच्छाका लागि हार्दिक धन्यवाद ! चियाकफी गफ, साहित्यिक गोष्ठी, सेकुवाघरतिर भेटघाट, इको राइटिङ या इको डेटिङका लागि सम्पर्क गर्नुहोला !’

मेरा नजर ठोक्किन्छन्– नक्खु भ्यालीको खैरो क्यानभासमा कोरिएका घडेरीका प्लटिङ र प्लानिङबेगरका निर्माणाधीन घरहरूमा । विस्तारै साँझ ढल्न थाल्छ जुनकिरीका उज्याले जस्तै लाग्छन् कङ्क्रिटका जङ्गलमा बलेका बिजुलीबत्ती ।

दुई गोलार्द्धका फरक समय । लामो उडानपछिको मेरो थकित ज्यान । ह्वीस्कीको नशा । वसन्तको शीतल र न्यानो मौसमलाई ओढ्दै गर्दा विस्तारामा भुस भएको पत्तै भएनछ ।

०००

२०७८ फागुन ५ गते ।

सभाकक्ष बुक गर्न आज प्रज्ञा प्रतिष्ठान जानु छ । नेपाल आएको बेला पुस्तक विमोचन गर्ने पहिलेदेखिकै सोच हो मेरो ।

अचेल त काठमाडौंमा पठाओ एपमा ट्याक्सी  दैलोदैलोमै मगाउन मिल्दो रहेछ । एउटा ट्याक्सी बुक गर्छु । दश मिनेटमा ट्याक्सी  हाजिर हुन्छ । ड्राइभरको नाम र थर, गाडी नम्बर, टेलिफोन नम्बर, उसको लोकेसन र कति समयपछि आइपुग्छ भन्ने कुरा सबै एपमा देखिने । अमेरिकामा विकास गरिएको प्रविधि हो यो । नेपालमा चाहिं बङ्गलादेशी व्यापारीको व्यवस्थापनमा सञ्चालित रहेछ– पठाओ । यसैले त लाभान्वित भएका छन्, काठमाडौंवासी ।

परम्परागत ढाँचाको ट्याक्सी चढेको भए भाडाका लागि ड्राइभरसँग अनावश्यक बार्गेनिङ गर्नुपर्थ्यो । धन्न यसपालि यस्तो झन्झटमा परिएन । सरकारले पेट्रोलको मूल्यवृद्धि महिनैपिच्छे गर्ने तर सोहीअनुरुप मिटरलाई ‘क्यालिब्रेट’ नगरिदिएपछि बार्गेनिङ नहोस् पनि किन !

बीस वर्षे पुराना गाडीहरू करिब-करिब विस्थापित भइसकेको रहेछ काठमाडौंमा । त्यही भएर होला, तुलनात्मक रूपमा गाडीले फ्याँक्ने कालो धुवाँको मुस्लो पहिलेको भन्दा कम देख्छु । ट्राफिक व्यवस्थापनमा पनि केही सुधार आएको अनुभूति भइरहेको छ । सडकपेटीमा बिछ्याइएका रहेछन् इँटा र कङ्क्रिटका ब्लक । अनि रोपिएका रहेछन् सस्याना हरिया बुट्यान । जावलाखेलबाट प्रज्ञा प्रतिष्ठानको गेटसम्म पुग्दा यी दृश्य देखेर फुरुक्क पर्छ मेरो मन ।

क्षणिक पलका लागि मात्र रहन्छ यो खुसी । अलिक पर सडक छेउमा फोहोरमैलाको पहाड देख्नुपर्‍यो मेरो आँखाले । एकसर्को कडा गन्ध मास्क छेडेर नाकभित्रै पस्छ ।

साथीहरूले काठमाडौं वरिपरिका निकुञ्जमा हाइकिङ गर्दै गरेका फोटो फेसबुकमा पोस्ट्याउने गर्थे । ती देखेर मेरा खुट्टा चिलाइरहेका थिए । प्रज्ञा भवनमा बुकिङको काम सिध्याएपछि हिंडेरै घर फर्किने सोच बनाउँछु ।

हिमाल र पहाडमा दुई दिनभन्दा बढी रात बसेर गरिने पैदलयात्रालाई ‘ट्रेकिङ’ भनिन्छ । तर बाहिर रात नबिताई घरै फर्कने यात्रालाई ‘हाइकिङ’  भनिन्छ । र,  सहरबजार घुमी हिंड्ने कार्यलाई ‘टुर’ । सबैखाले यात्रा मन पर्छ मलाई । टुरमा निस्किँदा मानिसका आआफ्ना रुचि हुन्छन् । कसैले भवनका डिजाइन हेर्लान् । कसैलाई सपिङ मल र सडकपेटीका आर्टले आकर्षित गर्लान् । म चाहिं फोहरमैला व्यवस्थापन, सडकपेटीका वृक्षारोपण र फलफूलका रुख, परेवा, कौवाजस्ता सहरिया चराचुरुङ्गी, फ्याउरो, गाईगोरु र कुकुरजस्ता जनावर हेर्दै हिंड्छु । समग्रमा म सहरको इकोलोजी बुझ्दै हिंड्न मन पराउँछु । अर्थात् सहर कत्तिको वातावरणमैत्री छ वा छैन भन्ने कुरालाई हेर्छु । यदि छैन भने के कसरी वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विचार खेलाउँदै हिंड्छु । त्यसैले यस्ता पदयात्रालाई म ‘स्ट्रिट इको–टुर’ भन्न रुचाउँछु ।

यही स्ट्रिट इको–टुर गरेका फोटा, साथीहरूलाई देखाउन, फेसबुकमा हाल्नुछ । त्यसैले म लाग्छु कमलादीबाट पुतलीसडक, डिल्लीबजार, प्रदर्शनीमार्ग, टुँडिखेल, भद्रकाली, रङ्गशाला, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जावलाखेल हुँदै घर ।

यस क्रममा डिल्लीबजारको मूल सडकमै दर्शन गर्नपुग्छु फोहोरको थुप्रोलाई । बटुवाहरु मजस्तै नाक छोप्दै बाटो काटिरहेका छन् । इँटा तथा कङ्क्रिटका ब्लक बिछ्याइएका छन् सडकपेटीमा । तर पाइलैपिच्छे ओद्रिएका । कति स्वतः त कति मानवीय लापरवाहीले । खानेपानीको नाला र ढल मर्मत गर्दा उक्काइएका हुँदा हुन् ती पेटी । म सोच्छु– जुन ठेकेदारले प्रोजेक्ट सम्पन्न गर्छ, उसैको जिम्मेवारी होइन र पेटीलाई पहिलाकै अवस्थामा ल्याउने ! कतै कतै त बडेमानका खाल्डाखुल्डी छन् । मोबाइल हेर्दै हिंड्ने युवायुवतीहरू धन्न खाल्डामा परेनन् ।

भद्रकालीको आकाशे पुल तरेर टुँडिखेलको साइडमा उत्रिन्छु । पुलको तल छ– खोलाझैं सुस्याउने गाडीका लस्कर तीव्रगतिमा । पुलमाथि सेल्फी खिच्न व्यस्त युवायुवतीहरु र फुटकर पसलहरु । पुल तर्नुअघि हङकङ बजार पसेर आएको थिएँ । नाकैमा ठोक्किने गरी झुन्ड्याइएका लुगैलुगाको साँघुरो गल्ली ।

शहीदगेट आइपुग्दा, शहीद दिवस मनाएको धेरै दिन भएको थिएन भन्ने सङ्केत दिन्छन् झुन्ड्याइएका ब्यानरले । केही ब्यानरमा प्रथम शहीद लखन थापामगरको तस्वीर मात्रै र केहीमा चारै जना शहीद– दशरथ, धर्मभक्त, शुक्रराज र गङ्गालाल । किन ती पाँचै शहीद एउटै ब्यानरमा अट्न नसकेका ? शहीद स्मारकको शिरमा भने त्रिभुवनको सालिक । राजा राष्ट्रकै शिखर पुरुष हुन्, शिरमै बस्छन् । तर त्रिभुवनले प्रजातन्त्र ल्याउन खोज्दा सहादत प्राप्त गरेका थिए र ? नेपाली जनता प्रश्न गर्ने गर्छन्, ‘शहीदगेटको शिरमा प्रथम शहीदलाई नराखेर किन राजालाई राखिएको ?’

शहीदगेटलाई फन्को मारेर अगाडि बढ्दा उता धरहराले मुन्टो ठड्याएर चियाउँदै रहेछ । त्यतिनैखेर २०७२ को भुइँचालोले भुइँमा ढालेको विभत्स दृष्यको सम्झना आउँछ । म त्यता नछिरीकन सिधै ओरालो लाग्छु दशरथ रङ्गशालातिर । त्यति बेला मलाई धरहरामाथि चढेका थुप्रै मानिसको ज्यान गएको स्मरण हुन्छ । पहिलाको भन्दा अहिलेको धरहरा अलि मोटाएको हो कि भन्ने लाग्छ । मोटै बजेटले बनेको हुँदो हो । निर्माण सम्पन्न नभई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे भन्ने सुनिन्थ्यो । निर्माणकार्य सुरु नहुँदै भव्य शिलान्यास गरिने पनि चलन छ नेपालमा ।

रंगशालाको मूलद्वार हुँदै थापाथलीतिर मोडिन्छन् मेरा पाइला । मोडमै एउटा अत्याधुनिक जस्तो लाग्ने सार्वजनिक शौचालय भेटिन्छ । शुल्क तिरेर प्रयोग गर्न सकिने । शौचालय प्रयोग गर्ने मन हुँदाहुँदै, मैले गरेको शौच आखिरमा बागमतीमा गएर विसर्जन हुने त हो भनी थामेर बाटो लाग्छु । काठमाडौंमा रेस्टुरेन्टका शौचालय प्रयोग गरिहालुँ जस्तो लाग्दैन । आखिर बागमती प्रदूषकको रुपमा मेरो पनि नाम दरिएला कि भन्ने डर लाग्छ मलाई । तर कहिलेकाहीं प्रयोग नगरी पनि नहुने । घरमा त मेरो सेप्टिक ट्याङ्की छ ।

त्रिपुरेश्वर र थापाथलीबीचको साँघुरो सडकपेटीमा वृक्षरोपण गरेर हरियाली पार्ने काम गरिएको रहेछ । यस्ता वातावरणमैत्री प्रयासप्रति नगरपालिकालाई मनमनै सराहना प्रकट गर्न मन लाग्छ । तर ती वृक्षमा मलजल नपुगेको लक्षण देखिन्छन् । त्यतिबेला कार्यालय समय नै हुनपर्थ्यो । यति लामो बाटो नापिसक्दासम्म मैले कहींकतै नगरपालिकाका कामदारले काम गरेको देख्न सकेको थिइनँ । त्यहींनेर भने दुई महिला खुइलिसकेको हाइभिज भेष्टमा झाडुले सडककिनार बढार्दै गरेको देख्छु । पेटी र सडकको साँधमा थुप्रिएको बाक्लो धुलाको तहलाई देख्दा ब्रुमरले बढार्नुपर्ने जस्तो लाग्छ मलाई । केही वर्षअघि नगरपालिकाले धुलो बढार्ने ब्रुमर गाडी किनेको छ भन्ने मिडियामा पढेको थिएँ । तर ती मेसिन आज कतै देखिएनन् । बिग्रेर नगरपालिकाको आँगनमा थन्केका होलान् । आधुनिक प्रविधि प्रयोग गरेर मात्रै सडकलाई भनेजस्तो रुपमा सफा राख्न सकिन्छ भन्ने मेरो मान्यता हो ।

थापाथली आइपुग्दा त्यहाँको चौरस्ता अति व्यस्त अवस्थामा हुन्छ । मधुरो ट्राफिक लाइट झिमिकझिमिक गर्दै, ट्राफिक पुलिस तिरिततिरित सिठ्ठी फुक्दैछन् । बीचको लेन मिचेर मोटरसाइकलहरू ट्राफिक लाइट नजिकै जोतिंदै, कुनै भने फुटपाथमा चढाउँदै अगाडि बढ्दै हुन्छन् । म्याराथुन दौड प्रारम्भ हुन लागेको र धावकहरू तछाडमछाड गर्दै दौडन तमतयार हुँदैछन् जस्तो लाग्छ यी दृश्य हेर्दा । रङ उडेका जेब्राक्रसिङका धर्साउपर पदयात्री सडक पार गर्दैगर्दा, ट्याँटा र टुँटुँ हर्न बजाउँदै गाडीहरू पनि दोहोरै चल्दै । म पनि अरु पदयात्रीको आडलाग्दै, गाडीले कतै ठक्कर दिन्छ कि भनेर डराउँदै पारि तर्छु ।

पारि के पुगेको हुन्छु, एक गुजुल्टो टेलिफोनको तारमा झन्डै अल्झेथ्यो मेरा पाइला । बाङ्गोबाङ्गो पोलको टुप्पातिर नजर लगाउँदा गिद्धको गुण जत्रो आकारमा तार बटारिएका पाउँछु । एउटा पोलदेखि अर्को पोलबीच तारहरू भुइँसम्म लत्रिएका । दृश्य प्रदूषणको एक ज्वलन्त उदाहरण हो यो । त्यो चोक भएर दिनमा कति मन्त्री, मेयर र सांसदका गाडी गुड्दा हुन् । विडम्बना ! तिनका नजर महङ्गा कारका झ्यालबाट ती कुरुप दृष्यउपर के परुन् ! परेका हुन्थे भने त सहरलाई सुन्दर पार्न चाल्थे होलान् केही न केही कदम ।

ती तनरङ्ङ परेका तारका बारेमा सोच्दासोच्दै बागमती पुल काट्दै रहेछु । कुहेको अण्डाजस्तो लाग्ने क्या नमीठो गन्धले ठ्यास्सै हान्छ मेरो नाकमा । मास्कबाट पनि नाकभित्र छिर्ने गन्ध भनेपछि कति शक्तिशाली रहेछ ! पुलको तलतिर मेरा दृष्टिपात हुँदा, काठमाडौंवासीका ढल बगाउँदै बिचरा बागमती नदी अचेत अवस्थामा घस्रिंदै थिई । नदीलाई तटबन्धन गरिंदै रहेछ । कङ्क्रिटका पर्खाल अधकल्चो अवस्थामा पल्टेका देखिन्छन् । ‘वायो इन्जिनियरिङ’ गरेर तटबन्ध निर्माण गरे पो नदीको पारिस्थितिक सन्तुलन ल्याउन सकिन्छ । बजेट सिद्दिएर निर्माण कार्य रोकिएको हो कि बिदाको दिन परेर हो, मैले ठम्याउन सकिनँ ।

पुल तरेर कुपण्डोल आइसक्दा पनि बागमतीबाट उत्सर्जित गन्धले मलाई छोड्दैन । घरसम्मै त्यो गन्ध मेरो लुगामा टाँसिएर पछ्याउने हो कि जस्तो लागेर आउँछ । त्यसपछि धेरै वर्षअघि रचेको ‘बागमती ब्लुज’ कविताको एक पङ्क्ति स्मरण गर्ने प्रयास गर्छु म–

‘… मैले उनका आँखामा

सङ्लो सागर देख्न चाहन्थे

तर त्यो सागर कतै भेटिएन

बरू वर्षातको भेल पसेको पोखरीजस्तै

धमिला थिए उनका आँखा……

कुपण्डोलको तेर्सै उकालो लाग्दैगर्दा एक अधबैंसे महिलाले मेरो ध्यानाकर्षण गर्छिन् । उनी सडकपेटीमा एक दर्जन जति सागका मुठा फिंजाएर बेच्न बसेकी थिइन् । बिचरा, कतिबेला तिनको साग बिक्री हुने हो ? त्यही पैसाले चामल किनेर लग्ने होला ? र, कति बेला घरमा पुगेर छोराछोरीलाई खाना पकाएर खुलाउने होलिन् भनेर चिन्तामग्न बन्दै म बाटो नाप्छु । त्यतिका साग सबै मैले किनेर पनि कहाँ लग्ने ? माग्ने भए बरु दुई चार सय रुपैयाँ दिन्थें । कुनै रेस्टुरेन्टको साहुजी आएर सबै साग खरिदेला भन्ने कामना गर्दै म जावलाखेलतिर उकालो लाग्छु ।

पेटीमा स्कुटी र साइकलहरु पार्क गरिएका छन् । पदयात्रीलाई नै बाधा पुग्ने गरी पसलेले विज्ञापनका बोर्ड पनि तेर्स्याएका । पसलभित्र भने कतै महङ्गा कपडा त कतै महङ्गा फर्निचर, ट्वाइलेट र किचनका सामान । काठमाडौंवासीका सुन्दर घर हुन्छन् र घरमा वेस्टर्न स्टाइलका किचन र ट्वाइलेट पनि हुन्छन् । त्यसैगरी यहाँका गल्ली, सडक र सडकपेटी पनि सुन्दर हुनु नि !

गोधूली साँझ ढल्किँदै गर्दा जावलाखेल राउन्डेवाउट आइपुगेछु । यसको बीचमा जहिल्यै हरिया दूबो र बोटबिरुवाकका साथमा फूल फुलाइएको हुन्छ । यो मात्रै एक स्टान्डर्डको र सधैं व्यवस्थित गरेर राखिएको राउन्डेवाउट लाग्छ मलाई । यता आउँदा उताको झझल्को नआउने कुरै हुन्न । बेलायतमा बनाइएका राउन्डेवाउटभन्दा यो राउन्डेवाउट केही कम देख्दिन । यसलाई निर्माण गर्ने तत्कालीन इन्जिनियर र सरकारलाई मनमनै सम्झन्छु म ।

यो चोक कटेपछि सटकट् बाटो लिएर रिङरोडतिर लाग्छु । गिट्टी र बालुवाजस्ता निर्माण सामग्री सडकै छेकिने गरी लहरै थुपारिएका छन् । यस्तै लापरवाहीले हो हाम्रा सहरबजार धुलाम्य बनेका छन् । रिङरोड क्रस गर्न न आकाशे पुल छ, न त सबवे नै । त्यसैले त मानिसहरू सडक दुर्घटनामा परेको समाचार दिनदिनै सुन्नुपर्छ । तीव्र गतिमा आएका गाडीबाट तर्किंदै जेनतेन पारि तर्छु । र, पुग्छु घर ।

चप्पल पहिरिएको मेरा पैताला यतिखेर धुलाम्मे भइसकेका छन् । नङमा पालिस लगाएर स्याण्डलमा हिंड्ने महिलाहरू आफ्ना पैताला सुन्दर राखिराख्न कसरी सक्षम हुन्छन् कुन्नि ! छक्कै पर्छु म । यति बेला मेरा खुट्टा कुकुरलाई दिंदा पनि नखाला जस्ता भइसकेका छन् । बालवयमा नाङ्गै खुट्टा हिंडेर स्कुल पुगेको, घाँसदाउरा गर्न वन जाँदा काँडा बिझेको जस्ता स्मृति मानसपटलमा पुनः दोहोरिन्छन् ।

थकाइले सुस्केराउँदै धुलाम्मे टोपी, मास्क र चश्मा टेबलमा राख्छु । घरको बार्दलीबाट नक्खु खोलाको भ्यालीतिर नजर लगाउँदा तुवाँलोको खैरो पर्दामा बेरिएको हुन्छ काठमाडौंको क्षितिज । राति आकाशमा जूनतारा देख्न नपाउँदा बेस्सरी नरमाइलो लाग्छ मलाई ।

मेरो बाँकी नेपाल भ्रमण पनि पैतालामा धुलो र आँखामा तुवाँलो लिएरै बित्ने होला भन्ठान्दै विस्तारामा घुस्रिन्छु ।

यो खबर पढेर कस्तो महसुस भयो?

0
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly

You may also like

Leave a reply

Your email address will not be published. Required fields are marked *