पोखरा, नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समितीद्वारा आगामी माघ १५ र १६ गते “वृहत साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता–२०८२” भव्य रूपमा सञ्चालन हुने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठान अन्तर्गतको भानु सभाहलमा हुने उक्त कार्यक्रम महासंघको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको कुरा नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समितीका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन।
कार्यक्रममा स्ववियु पृथ्वी नारायण क्याम्पस तथा पृथ्वी नारायण क्याम्पस स्वयं सह–आयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार कार्यक्रममा विशेषत आदिवासी जनजाति समुदाय तथा विभिन्न सांस्कृतिक पृष्ठभूमिका सांस्कृतिक, सिर्जनात्मक तथा कलात्मक प्रतिभा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
सांस्कृतिक प्रस्तुति अन्तर्गत लाखे नाचसमेत समावेश गरिएको र्याली, आदिवासी जनजाती संस्कृति, भाषा, परम्परा तथा बिभिन्न मौलिक सांस्कृति लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम, विभिन्न जातीय घटकहरुको मौलिक नृत्य प्रस्तुती तथा विविध सांस्कृतिक नृत्य प्रस्तुतिहरू रहने बताइएको छ। उक्त कार्यक्रमले विद्यार्थी तथा स्थानीय समुदायबीच सांस्कृतिक आदान प्रदान र सह अस्तित्वको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकले राखेको कुरा नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समितीका वरिष्ठ उपाघ्यक्ष भुवन सिं सेर्मा लिम्बुले जानकारी दिए।
नृत्य प्रतियोगितामा विजयी हुने समूह र प्रतिभालाई आकर्षक पुरस्कार प्रदान गरिने, प्रथम हुने समूहलाई नगद रु १९,९९९ सहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद रु ९,९९९ सहित प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद रु ५,५५५ सहित प्रमाणपत्र साथै आकर्षक उपहारहरु प्रदान गरिने छ।प्रतियोगितामा नेपालको जुनसुकै क्षेत्र र तहमा अध्यन गर्ने विद्यार्थीहरु समावेस हुन सक्नेछन।
कार्यक्रमले क्याम्पस तथा स्थानीय तहमा सांस्कृतिक क्षेत्र र विद्यार्थी सहभागितालाई प्रोत्साहन गर्ने,सांस्कृतिक विविधता, मौलिक पहिचान तथा सामुदायिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। आयोजकको भनाइ अनुसार कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ र सहभागिताका लागि विद्यार्थी तथा इच्छुक समूहहरूलाई स्वागत गरिएको छ। कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी, शिक्षु, समुदायका प्रतिनिधि तथा दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्