
जेठ १२ जोमसोम मुस्ताङ । विश्वमा नै प्राचिन र अति आवश्यक संचार सेवाको रुपमा रहेको हुलाक सेवा नेपालमा वि.सं १९३५ सालमा नेपाल हुलाक घरको स्थापना भई शुरुवात भएको हो । यस अनुसार मुस्ताङ जिल्लामा वि.सं २०३१ सालमा जिल्ला हुलाक कार्यालय सदरमुकाम जोमसोममा स्थापना भएको हो ।
तत्कालिन समयमा संचारको एकमात्र माध्यम हुलाक रहेको अवस्थामा न्यून जनसंख्या रहेता पनि भौगोलिक कठिनाइका कारण आवश्यकताको आधारमा यस जिल्लाका कुनाकाप्चासम्म संचार सेवा पु¥याउने उद्देश्यले प्रत्येक इलाकाहरुबाट हुलाक सेवा शुरुभयो ।
लेते,टुकुचे, मार्फा, मुक्तिनाथ, कागवेनी, चराङ, लोमन्थाङ र छोसेर गरी ८ स्थानमा इलाका हुलाक कार्यालय र कुन्जो, कोवाङ, झोङ, छुसाङ, घमी, सुर्खाङ र छोन्हुपमा अतिरिक्त हुलाक कार्यालय स्थापना भई सेवा प्रवाह हुँदै आइरहेको थियो ।
नविन प्रविधि टेलिफोन, मोवाइल इमेल र इन्टरनेटको विकास सँगै परम्परागत चिठीपत्र आदानप्रदान कार्यमा मात्रै सिमित जस्तै वन्न गएको हुलाक सेवाको काममा कमी भएको महशुस गरी नेपाल सरकारले नयाँसोच बनायो ।
जस अनुसार मन्त्रिपरिषदको मिति २०८० मंसीर २५ गतेको निर्णयानुसार हुलाक सेवा विभाग र मातहातका निकायहरुको व्यवस्थापन र सर्वेक्षण स्वीकृत भए बमोजिम मुस्ताङ जिल्लामा एक स्थानीय तह एक हुलाकको अवधारण लागूभयो ।
मन्त्री परिषदको निर्णय बमोजिम मिति २०८१ साउन १ गतेदेखि ४ पालिका हुलाक कार्यालयहरु क्रमशः टुकुचे,कागवेनी,चराङ र लोमन्थाङमा साथै १ जिल्ला हुलाक कार्यालय,जोमसोम र ६ अतिरिक्त हुलाक कार्यालयबाट सेवा संचालन भैरहेको छ ।
जस अनुसार साविकका इलाका हुलाक कार्यालयहरु लेते, मार्फा, मुक्तिनाथ र छोसेर खारेज भएका छन् । भने अतिरिक्त हुलाक पाँचौ संशोधन नियमावली २०८० अनुसार अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु ५८ वर्ष पुगेमा अनिवार्य अवकाश दिने र नयाँ भर्ना नगर्ने नीति बमोजिम अतिरिक्त हुलाक कार्यालय छुसाङ खारेज भएको कुरा कार्यालय प्रमुख शिवराम आचार्यले बताएका छन् ।
हुलाक सेवा बिभागको आयोजनामा ०८१ मंसीर १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा देशभर एक स्थानीय तह एक हुलाक स्थापना भएको घोषणा भएको थियो ।
जस अनुसार कार्यक्रममा नेपालभर ७ हुलाक निर्देशनालय ७० जिल्ला हुलाक कार्यालय,६ सय ७६ स्थानीयतहमा रहेका पालिका हुलाक कार्यालयवाट सेवा संचालन हुनेछ भने अतिरिक्त हुलाकहरु विस्तारै खारेज हुँदे जानेकुरा बिभागले बताएको थियो ।
हुलाक सेवा शुरु भएदेखि हुलाकी कर्मचारीले पैदलद्वारा डाँक वोकेर सेवा आदान प्रदान गरिरहेकोमा यस जिल्ला सडक सन्जालसँग जोडिएकोले हुलाक सेवा छिटोछरितो गर्न यातायातको माध्यामद्वारा डाँक आदान प्रदान गर्न थालिएको कुरा कार्यालय प्रमुख आचार्यले बताएका छन् ।
जस अनुसार जिल्ला हुलाक कार्यालय मुस्ताङले दुई वा वढी अन्तर जिल्लामा डाँक ढुवानी समन्वय कार्य निर्देशनालयले गर्ने अधिकार बमोजिम हुलाक निर्देशनालय पोखराले पृथ्वी राजमार्ग वस यातायात प्रा.लि. सँग सम्झौता गरी २०८२ बैशाख १२ गतेदेखि डाँक ढुवानी सेवा शुरु भएको कुरा प्रमुख आचार्यले बताए ।
मुस्ताङमा दर्ता भएका हुलाक वस्तुहरु २ दिन भित्रमा पोखरा सम्बन्धित व्यक्तिले प्राप्त गर्न सक्नेछन् भने यस जिल्लाका लागि पोखरा दर्ता भएका हुलाक वस्तुहरु तल्लो मुस्ताङमा २ दिनभित्र र उपल्लो मुस्ताङमा ४ दिनभित्र सम्बन्धित व्यक्तिले प्राप्त गर्न सक्नेछन् प्रमुख आचार्यले बताए ।
जिल्ला हुलाकमा दर्ता भएका वस्तुहरु कुन ठाउँमा पुगे र कसले बुझ्यो भनी घरमै अनलाइनमा हेर्न सकिने प्रविधि पिआईटिएस् संचालन भइसकेको छ । यसका लागि डब्लु डब्लु डब्लु डट जिपिओ डट जिओभी डटमा आन्तरिक ट्राकिङ प्रणाली खोलेर हुलाकमा दर्ता गर्दा प्राप्त वारकोड नम्वर इन्ट्री गरिसकेपछि उक्त वस्तु कुन ठाउँमा छ वा सम्बन्धित व्यक्तिले बुझिसकेको छ अवस्था थाहा पाउन सकिन्छ आचार्यले बताए ।
विदेशबाट नेपालमा पठाएको सामान नेपालमा कुन ठाउँमा आइसकेको छ भनी जानकारी लिन अन्तराष्ट्रिय ट्रयाकिङ प्रणालीमा गई हेर्न सकिन्छ ।
यस प्रविधिको माध्यामबाट चिठीपत्र बुझिसकेपछि हरायो भन्न नमिल्ने अवस्था रहन्छ । बुझाउने कर्मचारीको र बुझिलिने व्यक्तिको मोवाइल नम्वर सिस्टममा इन्ट्री गरिएको हुन्छ प्रमुख आचार्यको थप भनाई रहेको थियो ।
परम्परागत रुपमा हुलाकमा चिठी मात्र पठाउन सकिने भन्ने जनमानसमा रहेकोले हुलाकबाट स्वदेशभित्र कानुनले निषेध गरेको वाहेक एक प्याकेटमा २० के.जि. सम्म र विदेशमा एक प्याकेटमा २ के.जि. सम्म को सामान सरकारले संझौता गरेका देशहरुमा सरकारी दररेटमा पठाउन सकिन्छ आचार्यले बताए ।
नयाँ हुलाक सेवााट स्वदेशभित्र यस जिल्लाको अर्गानिक उन्पादनलाई देशभरि नै हुलाक बाट पठाउन सकिन्छ भने विदेशमा पनि अन्य माध्यम भन्दा सुलभ दरमा सामान पठाएर सबैलाई सहज रुपमा सेवा दिन सकिने भएकोले यस सेवाको प्रयोग गर्न आचार्यले सबैमा अनुरोध समेत गरेका छन् ।
अर्कोकुरा के भने देशका लागि योगदान गरेका व्यक्ति तथा प्राकृतिक, धार्मिक ,पर्यटकीय स्थलहरुको नाममा हुलाक टिकट प्रकाशन हुने भएकोले आ–आफ्नो क्षेत्रमा भएका महत्वपूर्ण स्थलहरुको वारेमा यस जिल्ला हुलाक कार्यालयलाई जानकारी गराउन सबैलाई प्रमुख आचार्यले अनुरोध समेत गरेका छन् ।
साथै उक्त क्षेत्रको ऐतिहासिक महत्व सहितको लेख रचनालाई हुलाक सेवा विभागले आफ्नो प्रकाशनमा प्रकाशित गर्ने भएकोले महत्व बोकेका चिजहरुको बारेमा यस हुलाकमा सम्पर्क राख्न आचार्यले सुझाएका छन् साथै नेपालमा प्रकाशित भएका हुलाक टिकटहरु विश्व हुलाक संघका सदस्यराष्ट्रहरु सवैमा पुग्ने भएकोले उक्त क्षेत्रहरुको प्रचार प्रसार हुन पुग्दछ आचार्यले बताएका छन् ।
हाल मुस्ताङ देखि म्याग्दी बाग्लुङ पोखरा सम्म सिधा बसमा र पोखरादेखि काठमाडौंसम्म हुलाक कार्यालयको आफ्नै साधनद्वारा डाँक ढुवानी आदानप्रदान भैरहेकोले विश्वसनीय हुलाक सेवाको प्रयोग गर्न सम्पूर्ण नागरिकहरुमा जिल्ला हुलाक कार्यालय,मुस्ताङले अनुरोध गरेको छ प्रमुख आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्