२०८२ असार १६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङका यातायात ब्यवसायी किन ओरालोतिर जाँदै छन्

 

शुरूको समयमा हिमालपारीको जिल्ला मुस्ताङमा हेलिकप्टर चढाएर ल्याएको जीपबाट यातायात सुरूवात गरेको समयलाई नजर अन्दाज गर्दा एक आपसमा जिल्लाबासीहरूको बिचमा मिलन र सदभाव थियो ।त्यसैको कारण मिलेर काम गर्दा कसैले फुटाउ खेलमा भाग लिन सकेका थिएनन् । तर पछिको समयमा सबैलाई भनेजस्तो भाग नपुग्दा दाजुभाई फुटे गवार लुटे भैहाल्यो मुस्ताङमा ।एक आपसमा शत्रुता बढेपछि जिल्ला बाहिरका यातायात ब्यवसायीहरूलाई बिस्तारै जिल्ला भित्र्याउन थाले त्यसपछि त के खोज्छस् कानो आँखा भैहाल्यो । त्यसपछि ब्ल्याकहोलले दिनहुं अन्तरिक्षमा अनगिन्ती ताराहरू निले झै मुस्ताङको यातायात ब्यवसायहरूलाई जिल्ला बाहिरका ब्यवसायीहरूले निरन्तर निलिरहेका छन् ।

सामूहिक भन्दा पनि ब्यक्तिगत स्वार्थमा लिप्त भएका मुस्ताङ यातायात ब्यवसायीहरूको केही ब्यक्तिहरूको कारण आफ्नै यातायात ब्यवसाय धरापमा परेर ओरालो लागेको पत्तै पाएनन् । आफनै खुट्टामा आफैले बन्चरो हान्दाको परिणाम कस्तो हुन्छ भनेर ख्याल गर्न नसक्ने मुस्ताङबासी यातायात ब्यवसायीहरूको बिछोडको फाईदा अरूले लिदा पनि अझै घैटोमा घाम लागेको छैन । एक आपसमा खुट्टा तानातान रिसले हानाहानको कारण जिल्ला बाहिरका यातायात ब्यवसायीहरूले शिर ठाडो गरी आफ्नै ठाउँमा दादागिरी देखाउदा पनि मेसो नपाउने मुस्ताङी यातायात ब्यवसायीहरू कस्ता होलान् । सौताको रिसले काँखको बच्चा मार्ने भने झै आफ्नै खुट्टामा बन्चरो हाने यस्तो घृणित खेल कहिलेसम्म चल्छ मुस्ताङमा ।

मुस्ताङ यातायात ब्यवसायीहरूले सबैको हितको लागि नेपालको अधिकांश जिल्लाहरूमा सवारी साधन सञ्चालनमा ल्याउन सक्नु पर्दथ्यो त्यो पनि भएन । अर्को कुरा आधुनिक खालको सेवा सुबिधा भएको गाडी सञ्चालनमा ल्याउनुको सट्टा एक आपसमा मिल्न नसक्दा बाहिरी गाडीहरूले मौका पाए । किन दिनहुं ओरालो लाग्दैछन् मुस्ताङ यातायात ब्यवसायीहरू यसको मूल कारण भनेको एक आपसमा मिल्न नसक्नुनै हो जसको फाईदा अरूले लिने गरेका छन् । यतिखेर फेरी बाहिरी जिल्लाको ट्याक्सी ब्यवसायीहरूले मुस्ताङमा आँखा गाडेका छन् काउण्टर राख्नलाई , यो आफैमा गलत हो । किनभने मुस्ताङको ट्याक्सी ब्यवसायीहरूलाई धरापमा पारेर अरूलाई अवसर दिनु फेरी पूनः आफ्नै खुट्टामा बन्चरो हान्ने काम हो । त्यसैले मुस्ताङ यातायात ब्यवसायीहरू एक भएर आफनो ब्यवसायलाई ओरालो जानबाट जोगाऔ ।

प्रतिक्रिया दिनुहोस्