
चीनले निकट भविष्यमा कोरलानाका खोल्ने बिषयमा नेपाल पक्षलाई जानकारी गराएका छन् ।
जोमासोम । हिमालपारिको जिल्ला मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने कालिगण्डकी करिडोरको बेनी – जोमसोम – कोरला राजमार्ग सडक अनुगमन गर्न बिहीबार चिनियाँ सुरक्षा अधिकारीहरूको टोली मुस्ताङ आइपुगेको छ ।
द्विपक्षीय सीमा सुरक्षा, सडक मार्गको अवस्था, कोरलानाका सञ्चालन तथा व्यापार मेला सञ्चालन लगायतका विषयमा जानकारी लिन चिनियाँ सुरक्षा अधिकारीहरू मुस्ताङ आएका हुन् । नेपाल–चीनबीच वर्षेनि सञ्चालन हुने व्यापार मेला कोभिडका कारण विगत ३ वर्षदेखि ठप्प रहेको र पुन: सञ्चालन गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ । सो छलफलमा लोघेकर दामोदरकुण्ड गापका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र लोमान्थाङ गापाका अध्यक्ष टसीनर्बु गुरुङ उपस्थित थिए ।
सडकमार्ग हुँदै मुस्ताङ आइपुगेका चिनियाँ सुरक्षा अधिकारीको टोली र मुस्ताङका प्रतिनिधिहरूबिच बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयको सभाहलमा सुरक्षा समन्वय बैठक बसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।
नेपाल–चीन द्विपक्षीय सुरक्षा समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी केसीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका सुरक्षा प्रमुखको समेत उपस्थिति रहेको थियो । साथै चीनले निकट भविष्यमा कोरलानाका खोल्ने बिषयमा नेपाल पक्षलाई जानकारी गराएका छन् । कोरलानाका सञ्चालन गर्न चीनले सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुर्याएको चिनिया अधिकारिले जानकारि दिए ।
नेपाल पक्षअन्तर्गत मुस्ताङ जिल्लाले कोरलानाका सञ्चालन गर्ने दीर्घकालीन लक्ष्यअनुसार राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकमार्ग, कोरलानाकामा भन्सार लगायतका संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवदेन कार्यान्वयन चरणमा रहेको र सुरक्षा उपस्थितिलाई बलियो बनाउँदै लैजाने काम भइरहेको जानकारी चिन पक्षलाई गराएको छ ।मुस्ताङमा आएको चिनियाँ सुरक्षा अधिकारीको टोली शुक्रबार बिहानै उपल्लो मुस्ताङ प्रस्थान गरेको प्रजिअ केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्