२०८१ भाद्र ३०
९८५७६५०३३४, ९८५७६५००९३

पोखराको ड्यामसाईडमा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरीको छापा, सोधपुछ जारीे

पोखरा / प्रहरीले चिनियाँ नागरिकले पोखरा-१७ ड्यामसाईडमा चलाएको एक कम्पनीमा छापा मारेको छ । सो कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले विहिवार दिउसो छापा मारेको हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले अपरेशन जारी रहे पनि विस्तृत विवरण आइनसकेको बताए । स्रोतका अनुसार प्रहरीले कम्पनीमा कार्यरत तीन जना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको छ ।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ । घटनास्थलमा रहेका कास्कीका डीएसपी सुन्दर तिवारीले उनीहरुको गतिविधिबारे जानकारी लिने काम भइरहेको जानकारी दिए ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।

त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो । यद्यपि, त्यतिवेला ठगीका गिरोहका मुख्य सदस्यहरुलाई नेपाल प्रहरीले भगाएको आरोपमा चिनियाँ पक्ष असन्तुष्ट भएको थियो ।

काठमाडौं उपत्यकाबाहिर चाहिं प्रहरीले यस्ता गतिविधिमा संलग्न चिनियाँविरुद्ध हालसम्म अपरेशन चलाएको थिएन ।

साभारः ढाेरपाटन दैनिक

प्रतिक्रिया दिनुहोस्