मुस्ताङमा उच्च घनत्वको स्याउ खेतिको लागि भनि इटालीबाट ४८ हजार थान रुट स्टक कलमी स्याउको विरुवा ल्याइएको छ । गण्डकी प्रदेश सरकारको सहायताले कृषि विकास निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार विरुवा मुस्ताङ ल्याएर वितरण गरिएको हो ।
निर्देशनालयको अनुसार मुस्ताङका स्याउ किसानको मागलाई प्राथमिकता दिदै कलमी विरुवा पोखराबाट ९ वटा ट्रकमा मुस्ताङमा ल्याइएको हो । प्रदेश सरकार मार्फत वितरण गरिएको विरुवाहरुको जात गोल्डेन डेलिसियस, रेड डेलिसियस , फुजी र गावा गरि फरक फरक रहेका छन् ।
मुस्ताङमा यस प्रकारका विरुवाको खेति सफल हुन थालेपछि किसानको रोजाईमा यस विरुवा पर्न गएको हो । रोपेको २ वर्षमै फल दिने भएकाले उच्च घनत्व स्याउको माग बढी छ । सुरुवाती चरणमा मनाङको मनाङ एग्रो फर्मले उच्च घनत्व प्रविधिमा खेति गरेका थिए । मनाङमा यो खेति सफल भए पश्चात मुस्ताङमा यो विरुवा भित्रिएको हो ।
रुट स्टक कलमी विरुवा स्थानीय जातका परम्परागत स्याउका विरुवा भन्दा १० औँ गुणा महंगो हुन्छ । कृर्षि विकास निर्देशनालयले ७५ प्रतिशत अनुदान दिएता पनि एउटै विरुवा मुस्ताङसम्म आइपुग्दा १ हजार ५० रुपैँया पर्न जान्छ । ढुवानीको कारण महंगो पर्ने भए पनि किसानले भने २५ प्रतिशत मात्र तिरे हुन्छ ।
रुट स्टक कलमी स्याउका विरुवाको प्रयोग गरि आएका कृषक राजु लालचनको अनुसार परम्परागत स्याउ खेति गर्दा खर्च र समय बढी लाग्ने त्यसबाट आर्थिक लाभ लिनको लागि पनि बढी समय लाग्ने तर इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित रुट स्टक कलमी स्याउका विरुवाले भने शुरुवाती चरणमा महंगो देखिएता पनि ७५ प्रतिशत अनुदान प्राप्त हुँदा सहज हुने र २ वर्ष भित्रमा उक्त स्याउको बोटबाट आर्थिक लाभ लिन सकिने भएकोले किसानहरुको रोजाइमा परेको बताए ।
किसानहरुले अझ बढी आर्थिक लाभ लिनको लागि आगमी दिनहरुको कार्यक्रममा भने प्रदेश सरकार वा नेपाल सरकारले कोल्ड स्टोरेजको लागि पनि सहायता गरिदिनु पर्ने देखिएको लालचनले बताएका छन् । उनले भने अहिले रुट स्टक कलमी स्याउका विरुवा आफ्नो खेतमा १००० वटा रोपेका छन् ।
भिडियो सहित ।
प्रतिक्रिया दिनुहोस्